काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार जगतले लोकप्रियतावाद र अराजकतालाई प्राथमिकता दिन नहुने बताउनु भएको छ ।
बुधबार प्रेस चौतारी नेपाल र प्रेस युनियनले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले नेपाली राजनीतिकमा पछिल्लो समय लोकप्रियतावाद र राजनीतिमा अराजकता मौलाउँदै गएको बताउनु भयो ।
उहाँले पपुलिजम र राजनीतिकमा अराजकताका विषयमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले सञ्चार जगतले पत्रकारिताको माध्यमबाट राजनीतिक पार्टीहरुका कमजोरीहरु बाहिर ल्याएर सुधारका लागि सकारात्मक दबाब सिर्जना गर्नुपर्ने बताउनु भयो ।
उहाँले पत्रकारीता पनि राजनीतिक अराजकता र लोकप्रियतावादबाट जोगिन जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ पछिल्लो समय राजनीतिकमा अराजकता र पपुलिजम देखापरेको छ । यी दुई कुराले जरा फैलाउँदैछ । अराजकताको एउटा र पपुलिजमको अर्को समूह छ । यी दुवै कुरालाई हामीले ख्याल गर्नुपर्ने छ । राजनीतिक पार्टीहरुका कमजोरीहरु छन्, त्यसलाई सञ्चार जगतले देखाउनु पनि पर्छ । सुधारका लागि सकारात्मक दबाब सिर्जना गर्नुपर्छ ।'
उहाँले कम्युनिष्ट र कांग्रेसले नेपाली राजनीतिमा मूल भूमिका निर्वाह गर्दै आएका पार्टी भएकाले बहुआयामिक सम्बन्ध रहेको बताउनु भयो । उहाँले मुलुकमा अफ्ठ्यारो परिस्थिति आउँदा दुई पार्टी मिलेर सबै क्रान्तिहरु पूरा गरेको दाबी गर्नुभयो ।