जथाभाबी शाखा सडक खन्दा धराप बन्दै राजमार्ग

भाद्र ७, २०८१ |पोषनाथ अधिकारी
जथाभाबी शाखा सडक खन्दा धराप बन्दै राजमार्ग

धादिङ । राष्ट्रिय राजमार्ग जहाँ दैनिक साना ठूला हजारौं सवारी साधन गुडेका हुन्छन् । त्यही राजमार्गलाई केन्द्र बनाइ जथाभाबी खनिएका शाखा प्रशाखा सडकबाट आएको लेदो राजमार्गमा जम्मा हुँदा दैनिकजसो सवारी आवागमन प्रभावित मात्र होइन दुर्घटना नै हुने गरेको छ । तर यसको समाधानका लागि गम्भीर बन्नु पर्ने निकाय एक अर्कालाई दोष लगाएर उम्किने प्रयासमा छन् ।

गत असार २८ गते चितवनको सिमलतालमा लेदोसँगै आएको पहिरोले २ वटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भयो । ग्रामीण सडकबाट आएको लेदोको कारण दुर्घना भएको प्रारम्भिक अनुमान गरिएको छ । पछिल्लो समय देशभरका राजमार्ग सामान्य वर्षातमा समेत ग्रामीण सडकबाट आएको लेदोको कारण अवरुद्ध हुँदा एकातिर यात्रुले सास्ती भोगेका छन् भने अर्कोतिर यात्रा जोखिमपूर्ण बनेको छ ।

दैनिक १३ हजार सवारी साधन आउजाउ गर्ने पृथ्वी राजमार्गको धादिङ खण्डमा मात्र दायाँ बायाँ साना ठूला गरी ७५ वटाभन्दा बढी शाखा सडक खुलेका छन् । ती अधिकांश कच्ची छन् । अध्ययनबिनै जताततैबाट खुलेका कच्ची सडकका कारण सामान्य वर्षा हुँदा पनि गेग्रान मिसिएको लेदो झरेर सडक अवरुद्ध हुने र गुडिरहेका सवारी साधन पुरिने गरेका छन् । राजमार्गमा झर्ने लेदो र पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुने गरेका छन् ।

कोशी राजमार्गको धरान-धनकुटा खण्ड माथिल्लो भेग होस् या संखुवासभा-खाँदबारी-किमाथाङ्का सडक, सामान्य वर्षा हुने बित्तिकै अबरुद्ध हुन्छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा खण्डमा मात्र ६० भन्दा बढी अन्धाधुन्ध शाखा सडक खुलेका छन् जसको प्रभाव सामान्य वर्षातमा समेत राजमार्गमा पर्ने गरेको छ ।

सामान्यतया राजमार्गबाट दायाँबायाँ सडक खोल्ने बेलामा सडक विभागसँग अनुमति लिएर मात्र खोल्नु पर्ने हो । तर स्थानीय तहको निर्वाचनपछि विभिन्न बाहानामा राजमार्ग आसपासमा जथाभावी सडक खुल्ने क्रम बढेको छ । राजर्मागको संरक्षण हुनेगरी मात्र शाखा सडक विस्तारका लागि अनुमति दिनुपर्ने निकाय भने विभिन्न बहानामा पन्छिने गरेका छन् । 

जसले यो समस्या घट्नुको साटो झन् झन् बढेको छ । दैनिक हजारौं सवारी कुद्ने राजमार्ग क्षेत्रमा बिना अध्ययन जथाभाबी विस्तार गरिएका शाखा सडकका कारण सिमलताल जस्तो ठूला दुर्घटनाको सामना गर्नुपरेको हो ।

राष्ट्रिय राजमार्ग जहाँ दैनिक लाखौं मानिसले यात्रा गर्छन्, त्यही राजमार्ग नै असुरक्षित हुनेगरी बिनाअध्यन जताततै शाखा सडक खोलिरहँदा पनि सरोकारवाला निकायले रोक्ने प्रयास नगर्नुलाई अनौठो नै मान्नुपर्छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement