भारतीय बाँधका कारण कपिलवस्तुको यशोधरा र मायादेवीको ४ सय हेक्टर भन्दाबढी भूमि डुबानमा

दोस्रो पटक रोपेको धान पनि नासियो
समाधानमा सरकारले दिएन चासो
भाद्र ४, २०८१ |मनोज पौडेल
भारतीय बाँधका कारण कपिलवस्तुको यशोधरा र मायादेवीको ४ सय हेक्टर भन्दाबढी भूमि डुबानमा

कपिलवस्तु । भारतले सीमा क्षेत्रमा बनाएको बाँधका कारण कपिलवस्तुको यशोधरा र मायादेवी गाउँपालिकाको ४ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाएको धान बाली डुबानमा परेको छ । शनिबार राति भएको वर्षापछि जल सतह बढेर धानबाली नै नदेखिने गरी डुबेको छ । जसले गर्दा नेपाली किसान मारमा परेका छन् ।

भारतले सीमावर्ती सिद्धार्थनगर जिल्लास्थित चिल्हिया थाना अन्तर्गत बजहामा बनाएको बाँधका कारण नेपालतर्फका भूभाग डुबानमा परेका हुन् । यशोधरा गाउापालिकाको भावपुर, तितिर्खी, पुर्निहवा, रजवापुर र रमावापुर तथा मायादेवी गाउँपालिकाको तुल्सीडिहवा, गौरा, गौरी र सानो सिसहनियाका धान खेत डुबानमा परेका हुन् । आधा मिटरदेखि एक मिटरसम्म पानी जम्दा धान खेत पोखरीमा परिणत भएका छन् ।

गत असारमा पहिलो पटक रोपेको ५० हेक्टर धानबाली बाँधकै कारण डुबेर नष्ट भएपछि तुल्सीडिवहाका बासिन्दा दोस्रो पटक रोप्न बाध्य भएका थिए । दुःख गरेर साउन दोस्रो साता रोपेको धान पनि डुबानमा परेपछि किसान चिन्तित भएका छन् । दुई- तीन दिन धान डुबेपछि जरा कमजोर हुँदै पहेलिन्छ । डुबानले ३ सय ५० जनाभन्दा बढी कृषक प्रभावित बनेका छन् ।

पानीको निकास हुने ठाउँमा भारतले बाँध बनाएको छ । बाँधको ढोका नखोल्दा पानी निकास हुन नपाई नेपालका खेत डुबानमा पर्ने समस्या बर्सेनि दोहोरिने गरेको छ । ऋण खोजेर गरिएको खेती र परिश्रम यसरी खेर जाँदा किसानहरु लालाबालाको पठनपाठन र घरको गर्जो कसरी टार्ने भन्ने चिन्तामा हुन्छन् । 

बाँधको डुबानको समस्याका बारेमा पटक-पटक उठाउँदा पनि सुनवाइ नभएको उनीहरुको गुनासो छ । भारी वर्षाका बेला भगवानको नाम सम्झँदै बस्नु परेको स्थानीय बताउँछन् ।

भावपुर-रतनपुर, सिसहनिया-गणेशपुर र गौरा-तुल्सिडिहवा सडकबाट भेल बग्दा आवतजावतमा समेत कठिनाई भईरहेकोछ । भारतले सीमामा बनाएको बजाहा बााधका कारण करिब ५ किलोमिटर दक्षिणमा रहेको भावपुरसम्मै डुबानमा परेको देखिन्छ ।

भारतले बनाएको बजहा बाँधको उत्तरमा एक हजारभन्दा बढी विगाहामा ठूलो ताल बनाइएको छ, जुन आधा नेपाल र आधा भारतमा पर्छ । त्यही जम्मा भएको पानीबाट भारतले हिउँदमा सिचाइँ गर्छ । वर्षाका बेला बाँधका ढोका नखोलिँदा पानीले नेपालतिर डुबान गर्छ । यतिमात्र नभई बाँधा कारण ५५२ अब्लिक ४७ नम्बरको सीमास्तम्भ पूरै डुबाएको छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement