काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जनसंङ्ख्या वृद्धिदर न्यून हुँदै गएको भन्दै छिटो विवाह गरी सन्तान जन्माउन सल्लाह दिनुभएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रोजगारीका लागि युवाहरु विदेशी क्रम तीव्र हुँदा जन्मदर कम हुँदै गएको बताउनुभएको हो । उहाँले २० देखि ३० वर्षको उमेरमै विवाह गर्न र छिटो सन्तान जन्माउनसमेत युवाहरुलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले २० प्रतिशत नागरिक अझै गरिबीको रेखामुनि रहेकाले अब बर्सेनि दुई प्रतिशतका दरले गरिबी घटाउनुपर्ने समेत बताउनुभयो ।
उहाँले अबको एक वर्षभित्र सडक बालवालिकाको अन्त्य गर्ने घोषणा दोहोर्याउँदै कोही पनि बालबालिका अभिभावकविहीन भएर बस्नुनपर्ने दाबीसमेत गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल युवा सम्मेलनले जारी गरेको १७ बुँदे घोषणापत्र सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।