हिराबहादुर जो १५ वर्षदेखि खोरमा थुनिएका छन्...

श्रावण २३, २०८१ |बालकृष्ण अधिकारी
हिराबहादुर जो १५ वर्षदेखि खोरमा थुनिएका छन्...

मकवानपुर । बौद्धिक अपांगता भएका नागरिकले संविधानले व्यवस्था गरेको हक र अधिकार पाउन सकेका छैनन् । बरु परिवार समाज र राज्यले उनीहरूलाई बोझका रूपमा हेर्ने र बाँधेर राख्ने गरिरहेका छन् । प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने हक हुनेछ भन्ने नेपालको संविधान २०७२ को धारा १६ मा उल्लेख छ । तर मकवानपुरको मनहरीमा बौद्धिक अपाङ्गता भएका एक युवक खोरमा थुनिएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मकरीमा २३ वर्षीय हिराबहादुर थिङ खोरमा थुनिनु भएको छ । उहाँ यसरी थुनिएको १५ वर्ष भयो । उहाँको शरीरमा एकधरो लुगा छैन । दिसा/पिसाबको ख्याल छैन । उहाँ बस्ने स्थान दुर्गन्धले भरिएको छ । बौद्धिक अपांगता भएका थिङलाई घरमै राख्दा परिवारका अन्य सदस्यलाई असहज भएपछि उहाँलाई छुट्टै राख्न घर नजिकै शौचालयको छेवैमा खोर बनाइयो । उहाँ बस्ने खोरको दुर्गन्धले छरछिमेकीलाई समेत अप्ठेरो परिरहेको गुनासो छ ।

परिवारको आर्थिक अवस्था कमजोर हुँदा हिरा बहादुरकी आमा सुकुमाया थिङ वैदेशिक रोजगारीका लागि बिदेसिनुभएको छ । हिराबहादुरको हेरचाह गर्ने जिम्मेवारी ८२ वर्षीय वृद्ध हजुरआमाको छ । बुवा दैनिक ज्यालादारीका लागि गाउँघरमै ज्यामी काम गर्नुहुन्छ । दैनिक ज्यालादारीमा हिँड्नुपर्ने बाध्यताले छोराको औषधि उपचार गर्न नसकेको उहाँका बाबुको दुखेसो छ ।

मानसिक रुपमा अस्वस्थ देखिएका हिराबहादुर थिङलाई  उपचार गर्न खोजिएको मनहरी गाउँपालिकाको दाबी छ । परिवारले बिरामी कुरुवासमेत व्यवस्था गर्न नसक्दा उहाँको उपचार गर्न कठिन भएको स्थानीय पालिकाको दाबी छ ।

परिवार समाज र राज्यबाट माया नपाएका हिराबहादुर थिङजस्ता धेरै नेपाली नागरिकको जीवन नारकीय रूपमै बितिरहेको छ । उहाँको उद्धारका लागि परिवार, समाज र राज्यको ध्यान कहिले पुग्ला ?


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement