काठमाडौं । पछिल्ला पाँच वर्षमा सार्क राष्ट्रहरू श्रीलंका, अफगानिस्तान, पाकिस्तान र बंगलादेशमा देखिएका राजनीतिक घटनाक्रमले दक्षिण एसियालाई नै सुरक्षा चुनौती थपिरहेको छ । सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देशै छोड्नुपर्ने स्थिति आयो । जसको असरले नेपाल र भारतको सीमा क्षेत्रमा जोखिम बढेकाले सतर्कता अपनाइएको छ । विगतमा भुटान, म्यानमार र अफगानिस्तानबाट विस्थापित भएकाहरू नेपाल नै आएको तथ्य छ । बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमले नेपालको आन्तरिक सुरक्षामै फेरि जोखिम बढाएको हो ।
बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले देशै छोड्ने स्थिति आएपछि दक्षिण एसियाका सबै देशको सुरक्षा चासो बढेको छ । त्यसमा पनि बंगलादेशसँग सीमा जोडिएको भारत र करिब २७ किलोमिटरको दूरीमा रहेको नेपालले थप सतर्कता अपनाउनुपर्ने भएको हो । भारतले आफ्नो तर्फबाट बंगलादेशको सीमा क्षेत्रमा बोर्डर सुरक्षा फोर्सको परिचालन थप बलियो बनाएको छ भने नेपालले पनि कोशी र मधेश प्रदेशका सीमा नाकामा सशस्त्र प्रहरी बलको तैनाथी बढाएको हो ।
बंगलादेशमा विकसित आन्दोलनबाट त्रसित भएकाहरू विस्थापित हुन सक्ने आकंलन नेपाली सुरक्षा निकायहरूको छ । त्यही कारण विस्थापित बंगलादेशीहरु सुरक्षित स्थानका लागि भारत हुँदै नेपाल आउने बाटो रोज्न सक्ने भन्दै सुरक्षा निगरानी बढाइएको हो । बंगलादेशबाट नेपाल आउन सिलगुडी करिडोरको रुटबाट २७ किलोमिटरको मात्रै दुरी छ । तर भारतले बंगलादेशको सीमा क्षेत्रमा सुरक्षा कडा बनाएकाले नेपाललाई केही सहज भएको छ ।
त्यति हुँदा पनि खुला सिमानाको दुरुपयोग हुन सक्ने जोखिम कम छैन । त्यही बाटो हुँदै भुटानी र म्यानमारका रोहिंग्या नेपाल आएको विगत छ । खुला सिमानाकै कारण सन् २०१४ देखि नेपाल आएका रोहिंग्या सबैभन्दा पहिला बंगलादेश नै विस्थापित भएका थिए । बंगलादेशमा रोहिंग्याको क्याम्प नै राखिएको छ ।
काठमाडौंको कपन क्षेत्रमा मात्रै रोहिंग्याको सङ्ख्या १ सय ९२ भन्दा बढी पुगिसकेको छ । विभिन्न स्थानमा छरिएर बसेका कम्तीमा पनि ३ सय ८० रोहिंग्या नेपालमा रहेको तथ्यांक छ । तर उनीहरू कहिलेसम्म नेपालमा बस्छन् एकीन छैन । पछिल्लो समय अफगानिस्तानका तालिबानले सत्ता हातमा लिएपछि त्यहाँबाट विस्थापित केहीले नेपाललाई नै रोजेका थिए । १० जना अफगानी नेपाल आइपुगेका थिए ।
त्यसो त विगतमा भुटानबाट विस्थापितहरूले नेपाल नै रोजेपछि अहिले पनि उनीहरूको पूर्ण व्यवस्थापन सकिएको छैन । सन् १९९० मा भुटानले आफ्नो पहिचान जोगाउन भन्दै भुटानी परम्परा मान्नेबाहेकका नेपाली भाषीहरू लखेटिएपछि भारत आए । तर भारतले आफ्नो देशमा राखेन र ट्रकमा राखेर भुटानीलाई झापाको मेची पुलमा ल्याइदिएपछि शरण खोज्दै नेपाल प्रवेश गरेको इतिहास छ ।
दातृ निकायहरुसँगको समन्वयमा ५ वटा क्याम्पमा राखिएका भुटानीको आधिकारिक गणना सन् २००६ र ७ मा मात्रै गरिएको थियो । जति बेला १ लाख १३ हजार ४ सय २८ जना भुटानी शरणार्थी गणना भएको युएनएचसीआरको तथ्यांकले देखाएको थियो । ती मध्य अधिकांश तेस्रो देश गएका छन् भने करिब ६ हजार ५ सय अहिले पनि नेपालमै छन् । तर विगतका घटनाले पनि नेपालको खुला सिमानालाई तेस्रो देशको द्वन्द्व र आन्दोलनबाट विस्थापित भएकाहरूले नेपाल नै रोजेको देखाउँछ ।
जुन नेपालको आन्तरिक सुरक्षाका लागि सधैं जोखिम बनिरहेको छ । त्यसैले यस पटक बंगलादेशको घटनापछि गलत समूहले नेपालकै सीमा दुरुपयोग गर्न सक्नेतर्फ बेलैमा सचेत हुन जरुरी छ । साथै, यसअघि जस्तो शरणार्थीका रूपमा नेपाललाई विदेशीको आश्रयस्थल बन्न नदिन सरकारले कूटनीतिक रूपमा पनि छिमेकसँग उत्तिकै बलियो र सचेत संवाद गर्नु आवश्यक छ ।