अस्ट्रेलियाका पार्कमा रमाउँदै नेपाली बा-आमा

श्रावण २०, २०८१ |कञ्चन अर्याल
अस्ट्रेलियाका पार्कमा रमाउँदै नेपाली बा-आमा

अस्ट्रेलिया । पछिल्लो समय अस्ट्रेलिया पुग्ने नेपालीको सङ्ख्या उच्च छ । त्यसो त सन्तान भेट्न र घुमघामका लागि नेपालबाट हरेक वर्ष ठुलो सङ्ख्यामा अन्य नेपाली पनि अस्ट्रेलिया पुग्ने गरेका छन् । सिड्नीको अभन, रकडेल, मेलबर्नको मिकलहेम, कालकालो तथा तासमानियाको होर्बट र लन्सेस्टनका फुटपाथहरूमा नेपाली अभिभावक आफ्ना नातिनातिनासँग हिँडिरहेका भेटिन्छन् । अझ यहाँका पार्कहरू नेपालका ज्येष्ठ नागरिकको समय व्यतीत गर्ने तथा नयाँ साथी बनाउने गजबको थलो बनेको छ । 

भक्तपुरकी रेनुका भुर्तेल अहिले अस्ट्रेलियाको तासमानिया राज्यमा बस्नुहुन्छ । ६ महिना अगाडि छोराबुहारी भेट्न आउनुभएको भुर्तेललाई अस्ट्रेलिया गजब लाग्यो । काठमाडौं दक्षिणकालीका देवप्रसाद चापागाईँ २ महिनाका अघि मात्र अस्ट्रेलिया आउनुभएको हो । २ महिना बसाइले चापागाईँको  धित मरेन । दसैँ तिहार मानेर मात्र नेपाल फर्किने उहाँको सोच छ । उहाँ जस्तै देवप्रसाद  र दुर्गादत्तको पनि उस्तै योजना छ ।

भुर्तेल, चापागाईँ र पन्थीलाई जस्तै धेरै अभिभावकलाई अस्ट्रेलियाले लोभ्याएको छ । पछिल्लो तथ्यांकअनुसार अस्ट्रेलियामा करिब १ लाख ५१ हजार नेपाली स्थायी बसोबास गर्छन् । नेपाली विद्यार्थीको सङ्ख्या अस्ट्रेलिया उल्लेखनीय छ । अभिभावकलाई अस्ट्रेलियाले सजिलै प्रवेश आज्ञा अर्थात् भिजा दिने भएकाले पनि उनीहरूको उपस्थिति बाक्लो देखिन्छ । 

चिल्ला सडक, सफा पार्क, ठुलाठुला भवन, र सहरी व्यवस्था राम्रो रहेको कसलाई मन पर्दैन < नेपालबाट आएका अभिभावकहरूलाई पनि यस्तै कुराले लोभ्याएको देखिन्छ । सेवा सुविधाका हौसिएका आफ्ना सन्तान नेपाल नफर्किने हुन की भन्ने चिन्ता उनीहरूको अनुहारमा प्रस्ट देखिन्छ । 

अस्ट्रेलिया आउने अधिकांश अभिभावक नातिनातिना हुर्काउने उद्देश्यले आउँछन् । सुख सुविधामा अल्मलिएपनि उनीहरूले दैनिक आफ्ना छोराबुहारी भेट्न पाउँदैनन् । कामका कारण एक हप्तासम्म आफ्ना सन्तानको अनुहार देख्न नपाउने अभिभावक पनि छन्, अस्ट्रेलियामा । उनीहरू निकै खिन्न छन् । त्यसो त घरमा बसिरहँदा दिक्क लागेका  नेपाली अभिभावकलाई लक्षित गर्दै अस्ट्रेलियामा रहेका नेपाली संघसंस्थाहरुले रिफ्रेसमेन्ट कार्यक्रमहरू पनि गर्दै आएका छन् । 

आफ्ना परिवारका सदस्यसँग भेट्न र नातिनातिना खेलाउन अस्ट्रेलिया आएका कति अभिभावक भाषाका कारण र अस्ट्रेलियाको नियम थाहा नहुँदा सामान्य गल्तीमा पनि कानुनी झमेलामा परेका छन् । अझ स्थानीय सरकारले वञ्चित गरेका सामानहरू ल्याउँदा विमानस्थलमा अनावश्यक झन्झट बेहोरेका घटना पनि त्यत्तिकै छ । 


Image

कञ्चन अर्याल

अर्याल कान्तिपुर टेलिभिजनको अस्ट्रेलिया संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement