धादिङ । लगातारको झरीले ठाउँ ठाउँमा पहिरो गएपछि धादिङको दुईवटा गाउँपालिकाको सडक सम्पर्क विच्छेद भएको छ । पहिरोले खनियाँवास र रुविभ्याली गाउँपालिकाको सडक सम्पर्क सदरमुकामसँग टुटेको हो ।
उत्तरी धादिङको लाइफलाइनको रूपमा रहेको दामन-पाख्रिन मार्गको किन्ताङफेदीदेखि दार्खा हुँदै झार्लाङसम्म ठाउँ ठाउँमा सडक पहिरिएपछि खनियावास र रुविभ्याली गाउँपालिकासँगको सम्पर्क विच्छेद भएको छ । कठिन भू-बनोटका बीच बनाइएको सडकमा लगातारको वर्षाले ठाउँ ठाउँमा ठूल्ठुला पहिरो खसेपछि अहिले सवारीसाधन गुडाउनै नसकिने भएको हो । यातायात सञ्चालन हुन नसक्दा त्यस क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न त कठिन भएको छ नै बिरामी र अशक्तलाई अस्पताल ल्याउन पनि सकस छ ।
सवारीसाधन नचल्दा यहाँका नागरिकलाई सदरमुकाम आउजाउ गर्नसमेत कठिन भएको छ । बाटो अवरुद्ध हुँदा खनियाबास गाउँपालिकाको दार्खा, झार्लाङ रुविभ्याली गाउँपालिकाको सेर्तुङ, लापा, तिप्लिङ र गंगाजमुनाको समेत २ वडाका नागरिकले किन्ताङफेदिदेखि खाद्यान्न बोकेर लैजानु पर्ने अवस्था आएको छ । त्यस्तै स्थानीय तहले नियमित गर्ने विकास निर्माणको कामसमेत प्रभावित बनेका छ ।
किन्ताङफेदी नजिकै आँखु खोलामा पहराको फेदमा बनाइएको झन्डै सय मिटर सडक नदीले पूरै कटान गरेको छ भने खुर्सानीबारी क्षेत्रमा ठूल्ठूला पहिरोले सडक पूरै बगाएको छ । धेरै ठाउँमा ठूलो पहिरो गएकाले कसरी यातायात सुचारु गराउने भन्ने चिन्तामा जनप्रतिनिधि छन् ।
यही सडक प्रयोग गरेर उत्तरी धादिङका झन्डै ४० हजार नागरिक सदरमुकामसँग जोडिने गरेका छन् । उत्तरी धादिङको लाइफलाइनको रूपमा रहेको दामान पाख्रिन मार्गको किन्ताङफेदी भन्दामाथि दर्जन भन्दा बढी ठूलो पहिरो छ जुन स्थानीय तहको पहुँचले मात्र पन्छाउन सम्भव देखिएको छैन ।
यसका लागि संघ र प्रदेश सरकारले मद्दत नगर्ने हो भने उत्तरी धादिङका नागरिक लामो समयसम्म सडक सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था छ ।