धनगढी । अस्पताल खोल्ने भनेर बनाएको भवनमा चर्चसहित क्रिस्चियन धर्म प्रचार गरेको पाइएपछि धनगढी उपमहानगरपालिकाले भत्काएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका ७, मनेहरामा अस्पतालका नाममा चर्च सञ्चालन गर्ने लेट मे इन र नेपाल लाइफ वर्ल्ड मिसनको दर्ता खारेज गरी अवैध रुपमा बनाइएका संरचनामा आज डोजर लगाएर भत्काइएको हो ।
लेट मे इन धनगढी प्रालि नामको संस्थाले गत वर्ष साउन २२ गते सीपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने उद्देश्य राखेर जमिन भाडामा लिएर व्यवसाय दर्ता गराएको थियो । त्यस्तै, नेपाल लाइफ वर्ल्ड मिसनले गत वैशाख १६ गते सेमिनार, तालिम आदि कार्य गर्ने उद्देश्यसहित व्यवसाय दर्ता गराएको थियो ।
अस्पताल बनाउने भन्दै झुक्क्याएर बनाइएको संरचनामा संगीत र प्रार्थना हुन थालेपछि स्थानीय बासिन्दाले विरोध जनाएका थिए । स्थानीयको आग्रहपछि उपमहानगरपालिकाले लेट मे इन धनगढी प्रालिलाई २४ घण्टाभित्र लिखित जवाफ दिन पत्र पठाए पनि सो अवधिभित्र उसले जवाफ नफर्काएपछि डोजर चलाइएको उपमहानगरपालिकाले जनाएको छ ।