उपचारमा लापरबाही भएको भन्दै नोभा अस्पतालमा तोडफोड

श्रावण १२, २०८१ |टेकराज जोशी
उपचारमा लापरबाही भएको भन्दै नोभा अस्पतालमा तोडफोड

धनगढी । धनगढीको नोभा अस्पतालमा उपचारका लागि आएका एक युवकको मृत्यु भएपछि आक्रोशित आफन्तजनले अस्पतालमा ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिकाका १७ वर्षीय नसिब चौधरीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोपमा आफन्तजनले ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न थालेपछि तनाव भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेपछि भिड तितरबितर भएको छ ।

जन्डिसको समस्या लिएर गत साउन ७ गते अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको थियो । शुक्रबार अवस्था जटिल बनेपछि मात्र अस्पतालले नेपालगन्ज वा भारतको बरेली लैजान भनेको मृतकका आफन्तले बताएका छन् ।

दिउँसो करिब साढे ३ बजे नेपालगन्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको थियो । आफन्तले अस्पतालको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् भने डाक्टरलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

अस्पताल प्रशासनले भने गम्भीर अवस्थामा रहेका बिरामीलाई रेफर गरिएको र लैजाने क्रममा मृत्यु भएको जनाएको छ ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement