७० वर्षको निजामती सेवामा पहिलोपटक महिला मुख्य सचिव

श्रावण ११, २०८१ |कृपाल गौतम
७० वर्षको निजामती सेवामा पहिलोपटक महिला मुख्य सचिव

काठमाडौं । नेपालले निजामती इतिहासमा पहिलोपटक महिला मुख्यसचिव पाएको छ । पूर्वमुख्य सचिव वैकुण्ठ अर्याल निलम्बनमा परेसँगै लीलादेवी गड्तौलाले निमित्तको जिम्मेवारी पाउनुभएको थियो । असार ९ गते निमित्त र ३१ गते कायममुकायम हुनुभएकी गड्तौलासँग अब मुख्यसचिवका रुपमा काम गर्ने दिन भने जम्माजम्मी ३५ दिन मात्रै छ । तर कुशल कार्यशैली प्रदर्शन गर्न सक्दा निजामती प्रशासनको शिर उँचो बनाउने अवसर भने उहाँसँग छ ।

७० वर्षको निजामती सेवाको नेपाली इतिहासमा महिलाले मुख्य सचिवको जिम्मेवारी पाएको यो पहिलो पटक हो । बिहीबारको मन्त्रिपरिषद् बैठकले लीलादेवीलाई मुख्यसचिव बनाउने निर्णय गरेसँगै शुक्रबार बिहानै साढे ९ बजे उहाँ सिंहदरबार पुग्नुभयो । मुख्यसचिवका रुपमा लीलादेवीको पहिलो दिन स्वागत र बधाई ग्रहणबाट सुरु भयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्दा नेपाल सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीहरु उहाँलाई बधाइ दिन व्यस्त थिए । बधाइकै बीच उहाँले आफ्नो सचिवहरुको जिम्मेवारी तोक्ने पहिलो निर्णय गर्नुभयो ।

साढे ८३ हजारभन्दा बढी निजामती कर्मचारीको सर्वोच्च पद नै मुख्यसचिव हो । २०५२ सालमा न्याय सेवाको शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गर्नुभएको लीलादेवीलाई आफू सचिव हुन्छु भन्ने विश्वास थियो, तर मुख्यसचिव नै हुन्छु भन्ने लागेको थिएन ।

२०६३ कात्तिकमा उपसचिव र २०७० माघमा सह-सचिवमा बढुवा हुनुभएकी लीलादेवी २०७७ कात्तिक २७ गते सचिव बन्नुभयो । भदौ १५ मा सचिवबाटै अवकाश पाउने तयारी थियो । तर उहाँ पहिलो महिला मुख्यसचिव भएर इतिहास रच्न सफल हुनुभयो । उहाँ भन्नुहुन्छ- आफूले कल्पना नगरेको पद पाएँ ।

‘७० सालमा सहसचिव भएपछि मलाई त्यतिखेर म पक्का सचिव हुन्छु भन्ने भयो किनभने मभन्दा अगाडिका सहसचिवहरु कुन उमेरका हुन्छन्, कहिले अवकाश हुन्छन् भन्ने हामीलाई थाहा हुन्छ,’ उहाँले कान्तिपुरसँग भन्नुभयो, ‘तर मुख्यसचिव भन्ने पदचाहिँ संजोगले हुने हो । म मुख्यसचिव हुन्छु भनेर जागिर खाएको, मलाई लाग्छ कोही कर्मचारीले पनि भन्दैन । यो संजोगले हुने पद हो । मैले कल्पनै गर्या थिएनँ ।’

मुख्यसचिव नियुक्त भए पनि उमेर हदका कारण भदौ १५ गते उहाँले अवकाश पाउँदै हुनुहुन्छ । अलि लामो कार्यकाल भइदिएको भए योजना बनाएर काम गर्न सकिन्थ्यो होला । तर आफूसँग जति समय रहन्छ, त्यति समय कानुनबमोजिम काम गर्ने र निजामती कर्मचारीको शिर उँचो बनाएर हिँड्ने वातावरण बनाउने बताउनुहुन्छ । समयावधि छोटो भए पनि उहाँले योबीच निजामती सेवालाई कसरी माथि लैजान सकिन्छ र निजामती सेवामा देखिएको असन्तुष्टिलाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे सोच्न जरुरी छ ।

हेर्नुहोस् कृपाल गौतमका थप स्टोरी ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement