एक झमट वर्षामै डुब्छ अरनिको राजमार्ग, सवारीसाधन र यात्रुलाई सास्ती

श्रावण ११, २०८१ |पुजन धिताल
एक झमट वर्षामै डुब्छ अरनिको राजमार्ग, सवारीसाधन र यात्रुलाई सास्ती

काभ्रे । अरनिको राजमार्गस्थित बनेपाको पुल बजार क्षेत्रको धुलिखेल-सूर्यविनायक सडक विस्तारको काम भइरहेको छ । यहाँ एक झमट वर्षा हुनेवित्तिकै सर्वसाधारणले डुबानको समस्या खेप्नुपर्छ ।

पुलबजार क्षेत्रमा शुक्रबार पनि दुई घण्टा परेको पानीकै कारण राजमार्ग जलमग्न बन्यो । जलमग्न सडकबाट सवारीसाधन तार्नुपर्ने अवस्था हुन्छ । यस क्षेत्रका छेउछाउका पसल तथा घरभित्रै पानी छिर्ने समस्या छ । राजमार्गमा यात्रा गर्नेलेसमेत सास्ती भोग्नुपर्छ । पानीकै कारण सवारीसाधन पनि जाममा फस्नु पर्छ ।

शुक्रबार बिहान पनि राजमार्गमा साना गाडी नै डुब्ने गरी पानी जम्मा भयो । यहाँको पुण्यमाता खोलाको बाढीले हरेक वर्ष पुल बजार क्षेत्र डुबानमा पर्छ । अतिक्रमणका कारण खोला साँघुरो भएको भन्दै यही आर्थिक वर्षमा बनेपा नगरपालिकाले पुण्यमाता खोला खोल्न स्काभेटर लगाएर पनि शुक्रबार पुन: डुबानमा परेको हो ।

राजमार्ग डुबान समस्याको दीर्घकालीन समाधान हुन सकेको छैन । यसले सवारीसाधन र यात्रुले सास्ती खेप्नुपरेको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।