छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

श्रावण ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

चितवन । चितवनमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

चितवनको नारायणगढ-मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका-१ भतेरीमा आज बिहान दुई वटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको कन्टेनर र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए । 

नेपाली कन्टेनर ट्रकका चालक पर्साका  प्रमोद पटेलको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान  साँढे सात बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभएको छ । 

भारतीय ट्रक चालक भारतीय नागरिक हेहताव आलमको भरतपुर अस्पतालमै उपचारको क्रममा मृत्यु भएको रिजालले बताउनुभयो । सोही ट्रकका सहचालक भारत गोरखपुरका सावन अहमदको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  

यसैगरी गएराति भरतपुरमा नम्बर नखुलेको सवारीले  मोटरसाइकललाई ठक्कर दिंदा भरतपुर-७ का चण्डीप्रसाद अधिकारी गम्भीर घाइते भएपछि चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान २ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।  

प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.