दाङ जिल्ला अदालतमा १८ महिना नाघेका मुद्दा शून्य

श्रावण ५, २०८१ |अमर क्षितिज भण्डारी
दाङ जिल्ला अदालतमा १८ महिना नाघेका मुद्दा शून्य

दाङ । दाङ जिल्ला अदालतले १८ महिना नाघेका मुद्दा शून्यमा झारेको छ । फरक मुद्दा व्यवस्थापन प्रणाली लागु भए पनि यसै वर्षदेखि नमुनाका रुपमा लागु गरेको दाङ जिल्ला अदालतले १८ महिना नाघेका सबै मुद्दा फर्छ्योट गरेको हो ।

देशका पाँच जिल्लामा लागु भएको यस प्रणालीअन्तर्गत दाङ जिल्ला अदालतले लक्ष्य हासिल गरेर नमुना काम गरेको हो । सरल, जटिल र विषेश प्रकृति गरी तीन प्रकारमा मुद्दाको वर्गीकरण गरी २०७७ सालदेखि फरक मुद्दा व्यवस्थापन प्रणाली लागु गरिएको थियो । प्रहरी, कानुन व्यवसायी, सरकारी वकिलको कार्यालय सबैको सक्रियतामा १८ महिना नाघेका ९९ मुद्दा फर्छ्योट गरी शून्यमा झार्न सफल भएको जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तव बताउनुहुन्छ ।

जिल्ला अदालतले आर्थिक वर्ष ०८०/८१ मा पाँच हजार पाँच सय चार मुद्दा परेकामा तीन हजार ६ सय १० वटा अर्थात ६५.५८ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ । ६५ प्रतिशत मुद्दा फर्छ्योटको वार्षिक लक्ष्य राखेको जिल्ला अदालत दाङले निर्धारित लक्ष्य पूरा गरेको स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

जिल्ला अदालत दाङमा आर्थिक वर्ष ०८०/८१ मा सबैभन्दा धेरै सम्बन्धविच्छेदका एक हजार दुई सय १५ मुद्दा दर्ता भएका छन् । जसमा नौ सय ७५ मुद्दा फर्छ्योट भएका छन् । त्यसैगरी अंश, चेक अनादर, जालसाजी किर्ते, लिखत बदरलगायत मुद्दा धेरै परेका छन् ।

मुद्दा फैसलामा लक्ष्य हासिल गरे पनि जिल्ला अदालत दाङले फैसला कार्यान्वयनमा भने सुधार ल्याउन सकेको छैन । फैसला कार्यान्वयनमा जरिवाना असुलउपरतर्फ ११ प्रतिशत मात्रै प्रगति भएको छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।