अपडेट : आठबिसकोटमा बाढीले घर बगाउँदा ३ जनाको मृत्यृ, एक बेपत्ता

सातजना घाइते
५ घरमा पूर्ण क्षति र २१ घरमा आंशिक क्षति
श्रावण १, २०८१ |महेश केसी
अपडेट : आठबिसकोटमा बाढीले घर बगाउँदा ३ जनाको मृत्यृ, एक बेपत्ता
सोमबार राति आएको बाढीका कारण क्षतिग्रस्त भएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२, बगरका घरहरु । तस्बिर : कान्तिपुर

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२, बगरनजिक तातोपानी खोलाले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । त्यस्तै नजिकैको झिन्चौर खोलाले बगाएर एकजना बेपत्ता भएका छन् ।

सोमबार रातिको अविरल वर्षाका कारण आएको बाढीले घर बगाउँदा मृत्यु हुनेहरूमा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिसा पुन र ४ वर्षीया मनीषा सार्की रहेको जिल्ला प्रहरी प्रमुख (डीएसपी) नवराज पोखरलेले जानकारी दिनुभयो ।

पोखरेलका अनुसार ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता भएको र अन्य सातजना घाइते भएका छन् । ‘घटना भएको केहीबेरमै घाइतेलाई नजिकै रहेको नगर अस्पतालमा लगिएको छ । उहाँहरुको उपचार भइरहेको छ,’ पोखरेलले भन्नुभयो, ‘बेपत्ताको खोजी पनि जारी राखेका छौं ।’

बाढीमा घाइते हुनेमा १० वर्षीय विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, ४ वर्षीय मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेको प्रहरीले जनाएको छ ।

साथै उक्त बाढीका कारण पाँचवटा घरमा पूर्ण क्षति र २१ वटा घरमा आंशिक क्षति भएको नगर प्रमुख रवि केसीले बताउनुभयो । ‘मृतकका परिवारलाई आवश्यक राहत र घाइतेको उपचार तथा बेपत्ताको खोजीमा नगरपालिका लागिपरेको छ,’ उहाँले भन्नुभयो, ‘बाढीका कारण घरबासविहीन भएकाहरुको पनि वैकल्पिक व्यवस्था गरेर थप क्षति हुन नदिन पनि मंगलबार बिहानैदेखि काम थालिएको छ ।’


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement