बाढी पहिरो र डुबानका कारण पछिल्ला दुई दिनमा १५ जनाको मृत्यु, तीन बेपत्ता

असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाढी पहिरो र डुबानका कारण पछिल्ला दुई दिनमा १५ जनाको मृत्यु, तीन बेपत्ता

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका घटनामा परी पछिल्ला दुई दिनमा देशभर १५ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । ३ जना बेपत्ता छन् । प्रहरीले शनिबार र आइतबार मात्रै काठमाडौँ उपत्यकासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा १५ जनाको मृत्यु भएको जनाएको छ । 

शनिबार यताको भारी वर्षातका कारण सबैभन्दा बढी गण्डकी प्रदेशमा पहिरोका कारण ८ जना तथा बाढीले लुम्बिनीमा ३, बागमतीमा २, कोशी र काठमाडौँ उपत्यका गरी पन्ध्र जनाको मृत्यु भएको हो । 

गण्डकीमा ६० घर डुबानमा परेका छन् भने डेढ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । ३ जना बेपत्ता छन् । बाढीले उदयपुरको बेलका-३ मा एक पुरुष, सुर्खेतको सिम्तामा एक बालिका र पहिरोमा परी स्याङ्जाको भीरकोटमा एक महिला बेपत्ता भएका छन् । 

जेठ मसान्तयता देशभर बाढी पहिरो लगायत मनसुनजन्य घटनामा परी ६७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाढीपहिरोका कारण देशभरका राष्ट्रिय राजमार्ग र विभिन्न सडकमा पनि क्षति पुगेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमका विभिन्न क्षेत्रमा रातभर भारी वर्षा भएको छ । 

महाकालीसहित विभिन्न तथा खोलामा जलसतह खतराको तहभन्दा माथि पुगेको छ । सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement