रामबहादुर बम्जनलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति

असार १७, २०८१ |ओमप्रकाश ठाकुर
रामबहादुर बम्जनलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति

सर्लाही । बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा पीडित बालिकालाई ५ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जनविरुद्ध त्यस्तो फैसला गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो । यसअघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेको थियो ।

आजको इजलासले पूर्ण फैसला गरेको हो । अभियुक्त बम्जनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्षसम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोगपत्र दायर गरेको थियो ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन अहिले महोत्तरी कारागार जलेश्वरमा छन् ।

सर्लाही जिल्ला अदालतले २०७७ असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडौंको बूढानीलकण्ठबाट गत पुस २४ गते मंगलबार साँझ सीआईबीको टोलीले पक्राउ गरेको थियो । २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा बम्जनविरुद्ध जाहेरी परेको थियो ।


Image

ओमप्रकाश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका सर्लाही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement