मिर्चैया हेल्थ नर्सिङ क्याम्पसद्वारा विद्यार्थीसँग अवैध रुपमा लाखौं रकम असुली

असार १३, २०८१ |विनय आजाद
मिर्चैया हेल्थ नर्सिङ क्याम्पसद्वारा विद्यार्थीसँग अवैध रुपमा लाखौं रकम असुली

सिरहा । सिरहाको मिर्चैयास्थित मिर्चैया हेल्थ नर्सिङ क्याम्पसले विद्यार्थीसँग अवैध रुपमा लाखौं रकम असुली गरेको खुलासा भएको छ । क्याम्पसले नर्सिङ अध्ययनरत विद्यार्थीसँग कक्षा शुल्कदेखि छात्रावास र प्रयोगात्मक अभ्यासलगायतका नाममा मनपरी शुल्क असुली गरेको हो ।

मिर्चैया हेल्थ नर्सिङ क्याम्पसले प्रविणता प्रमाण पत्र तह अर्थात् तीन वर्षे नर्सिङ प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीसँग प्रयोगात्मक अभ्यासका लागि अस्पतालमा पोष्टिङ गर्न जनही २० हजार रुपैयाँका दरले संकलन गरेको छ । क्याम्पसले रकम जम्मा नगरे प्रयोगात्मक अभ्यासमा सहभागी नगराउने चेतावनी दिएको गुनासो अभिभावकले गरेका छन् ।

कान्तिपुरले यस विषयमा सोधखोज गरेपछि क्याम्पसले विद्यार्थीसँग जबर्जस्ती रकम नलिएको भन्दै कागज गराएको छ । क्याम्पसका प्रशासन प्रमुख विजय यादवले रकम लिएको बारे बाहिर भने ठिक नहुने चेतावनी पनि विद्यार्थीलाई दिनुभएको छ ।

यो क्याम्पसले धनगढीमाई नगरपालिकामा रहेको एक सय बेडको आफ्नै अस्पताल आरके मेडिसिटीलाई देखाएर सीटीईभीटीसँग सम्बन्धन लिएको छ । चिकित्सा शिक्षा ऐनमा विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि क्याम्पससँग आफ्नै अस्पताल हुनुपर्ने बाध्यकारी व्यवस्था छ । तर, विवादित रहेको यो अस्पतालमा बिरामै जानै छाडेका छन् । आफ्नो अस्पतालमा बिरामी नै नभएपछि विद्यार्थीलाई क्याम्पसले सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पताल र मिर्चैयास्थित मिर्चैया अस्पतालमा प्रयोगत्मक अभ्यास गराइरहेको छ । क्याम्पसले विद्यार्थीसँग अस्पताल खर्च, यायातात खर्च भन्दै पैसा लिएको र यो अरु कलेजले पनि लिने गरेको एक कर्मचारीले नै स्वीकार गरिन् ।

यतिमात्र होइन, सीटीईभीटीले तीन वर्षे नर्सिङका लागि खाना र बस्नबाहेक शिक्षण संस्थानले सम्पूर्ण शुल्क ४ लाख ७५ हजार मात्रै लिनु पर्ने व्यवस्था गरेको छ । यो रकम पनि पहिलो वर्ष ४० प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत र तेस्रो वर्ष ३० प्रतिशत गरी तीन किस्तामा लिन भनेको छ । जसअनुसार, विद्यार्थीले पहिलो वर्षको किस्तामा एक लाख ९० हजार मात्रै क्याम्पसलाई बुझाउनुपर्ने हुन्छ । तर, यो क्याम्पसले भने पहिलो किस्तामै अवैध रुपमा झन्डै चार लाखसम्म रुपैयाँ असुलेको छ । अभिभावक र विद्यार्थीले क्याम्पसको आधिकारिक खातामै उक्त पैसा हालेका हुन् । जसको बैंक भौचर नै कान्तिपुरले फेला पारेको छ । यसको रसिद भने क्याम्पसले नदिएको अभिभावक बताउँछन् ।

क्याम्पसले छात्रावास पनि सञ्चालन गर्दै आएको छ । क्याम्पसमा पहिलो वर्षमा अध्ययनरत ४० र दोस्रो वर्षमा अध्ययनरत ३८ जना गरी ७८ जना नै छात्रावासमा बस्छन् । तर, छात्रावासमा कुनै मापदण्ड पूरा गरिएको छैन । एउटै कोठामा चारदेखि ६ जनासम्मलाई राखिएको छ । तर, दुई हजारमा कोठा पाइने मिर्चैयामा छात्रावासको नाममा क्याम्पसले भने एउटै विद्यार्थीसँग महिनाको १३ हजार लिन्छ । सीटीईभीटीको मधेस प्रदेश कार्यालय, जनकपुरधामले गत २०८० असोजमा छात्रावास विद्यार्थीको स्वेच्छाको विषय भएको भन्दै अनिवार्य नगर्न भन्दै सूचना नै जारी गरेको थियो । तर, यसको कार्यान्वयनका लागि यो कार्यालय जिम्मेवार नबन्दा क्याम्पसले विद्यार्थीलाई बाहिर बस्न नदिने र बाहिर बस्दा 'रिस्क' नलिने भन्दै छात्रावास अनिवार्य गरेको छ ।

यो क्याम्पसमा कुनै विषयमा गुनासो र प्रश्न गर्न निषेध छ । यसो गर्दा क्याम्पसले विद्यार्थीलाई मानसिक यातना दिने गरेको अभिभावकको गुनासो छ । क्याम्पसले गरेको यो मनपरीका विषयमा क्याम्पस प्रमुख भावना साह भने हाम्रो क्यामेरामा बोल्नै तयार हुनुभएन । मिर्चैया हेल्थ नर्सिङ क्याम्पसले गरेको अवैध असुलीले समग्र चिकित्सा क्षेत्र नै बदनाम भएको छ । नियामक निकायले यो क्याम्पसमाथि छानबिन गर्न अहिलेसम्म चासो दिएको छैन ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement