बुद्ध जन्मस्थल लुम्बिनीमा बृहत् योगाभ्यास

असार ७, २०८१ |मनोज पौडेल
बुद्ध जन्मस्थल लुम्बिनीमा बृहत् योगाभ्यास

लुम्बिनी । आज जुन २१ तारिख, हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाइन्छ । पूर्वीय दर्शनमा योग चिकित्सा पद्धति र जीवनशैली हो । यसलाई वैज्ञानिक र व्यावहारिक मानिन्छ । त्यसैले आत्मअनुशासन कायम गर्दै स्वास्थ्य र सकारात्मक जीवन बाँच्न योगले मद्दत गर्छ । योग दिवसको सन्दर्भ पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा योगाभ्यास गरिएको छ ।

बिहीबार बिहानै लुम्बिनीस्थित शान्तिद्वीपमा योग गर्नेको जमघट थियो । विश्व शान्तिको मुहान लुम्बिनीमा योग गर्नका लागि पश्चिम नवलपरासी, रुपन्देही र कपिलवस्तुका ३ सय बढी सर्वसाधारण पुगेका थिए । यो समूहमा ७ वर्षे बालकदेखि ७२ वर्षका ज्येष्ठ नागरिकसम्म सहभागी थिए ।

भारतीय राजदूतावास, बिपी कोइराला भारत नेपाल फाउन्डेसन र लुम्बिनी विकास कोषद्वारा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लुम्बिनी प्रदेश मुख्यमन्त्री जोखबहादुर महरा पनि सहभागी हुनुभयो । ‘अन्तर्राष्ट्रिय योग दिवस मनाएको १० वर्ष भइसकेको छ । अन्तर्राष्ट्रिय योग दिवस मनाएर योगलाई अन्तर्राष्ट्रिय स्तरको मञ्च मिलेको छ ।

योगले हाम्रो मनलाई स्थिर बनाउने भएकाले सकारात्मक भावनाको विकास गर्नका लागि पनि योग गर्नुपर्ने योगाचार्यहरु बताउँछन् । ईश्वरको आराधनादेखि शरीरको स्फुर्तिसम्मका लागि योग वरदान भएको उनीहरू दाबी गर्छन् । योग, स्वास्थ्य र कल्याणको मार्गसँगसँगै नेपाल र भारतको पर्यटन प्रवर्द्धन गर्ने माध्यम बन्दै गएको छ । 

अन्तर्राष्ट्रिय योग दिवसको छेको पारेर गत वर्षदेखि भारतीय दूतावासले लुम्बिनीमा सुरु गरेको योगाभ्यासले यो वर्ष पनि निरन्तरता पाएको हो । 


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।