![[अपडेट] रामेछापमा भएको जिप दुर्घटनामा मृत्यु भएका ५ मध्ये ४ जनाको पहिचान खुल्यो](https://kantipurtv-assets-api.ekantipur.com/thumb.php?src=https://kantipurtv-assets-cdn.ekantipur.com/uploads/source/news/2024/miscellaneous/bussaccidentatRamechhap-1732872715.jpg&w=1000&height=550)
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा आज दिउँसो भएको जिप दुर्घटनामा परि मृत्यु भएका ५ मध्ये ४ जनाको पहिचान खुलेको छ ।
काठमाडौँबाट गोकुलगंगा गाउँपालिका-४ बेताली जाँदै गरेको ना १ ज ७१२३ नम्बरको जिप अनियन्त्रित भइ सोही वडाको सिमलडाँडा भीरमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकमध्ये गोकुलगंगा गाउँपालिका -४ का वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेत, गाडी चालक मन्थली नगरपालिका–९ का ३५ वर्षीय हीराबहादुर कार्की, गोकुलगंगा गाउँपालिका– ५ की ३० वर्षीया कविता कार्की खड्का र उहाँकी ७ वर्षकी छोरी स्वस्तिकाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।
मृतक एक जनाको पहिचान खुल्न बाँकी रहेको उहाँले बताउनुभयो । दुर्घटनामा घाइते भएका कास्कीका केशव शर्मा, पहिचान खुल्न बाँकी अन्दाजी ४ वर्षका बालक र गोकुलगंगा गाउँपालिका–४ की सरस्वती कार्कीको सदरमुकाम मन्थलीस्थित मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।