सर्लाही । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका-१ रायमाझी चोकमा आज बिहान यात्रुबाहक बस र भारतीय मालबाहक ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।
आज बिहान साँढे ६ बजेतिर बागमती नगरपालिका-१ रायमाझी चोकमा भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्बरको बस र सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको भारतीय मालबाहक ट्रक ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा रुपन्देहीका दर्शक कहार, रामशरण केबट र हरिबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको विभिन्न अस्पताल उपचार भइरहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।