नेपाल र जर्मनीबीचको सम्बन्ध अझ घनिष्ठ हुन्छ : राष्ट्रपति पौडेल

असार ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल र जर्मनीबीचको सम्बन्ध अझ घनिष्ठ हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र जर्मनीबीचको सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरबीच सोमबार बर्लिनस्थित राष्ट्रपति भावनमा भएको द्विपक्षीय भेटवार्तामा राष्ट्रपति पौडेलले सम्बन्ध अझ मजबुत हुने बताउनुभएको हो ।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा जानुभएका राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच बर्लिनमा द्विपक्षीय भेटवार्ता भएको हो । त्यसअवसरमा उहाँले अन्तर्राष्ट्रिय समुदाय र जर्मनीलगायत मित्रराष्ट्रले नेपाललाई प्रदान गरिरहेको सहयोगलाई निरन्तरता दिई नेपालको आर्थिक विकासको आकांक्षा पूरा गर्नमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले त्यसैगरी विकासशील मुलुकलाई जलवायु परिवर्तनको प्रभावसँग जुध्न जर्मनीले लस एन्ड ड्यामेज फन्डमा गरेको सहयोग प्रतिबद्धतालाई स्वागत गर्न चाहेको पनि बताउनुभयो । द्विपक्षीय भेटवार्ता गर्नुअघि जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण हो । स्विट्‌जरल्यान्डको जेनेभामा भएको ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा सहभागी भएर राष्ट्रपति पौडेल शनिबार जर्मनी पुग्नुभएको हो । उहाँ बुधबार नेपाल फर्कने कार्यक्रम छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.