काठमाडौं । देशका विभिन्न स्थानमा चट्याङ लागेर आठ जनाको मृत्यु भएको छ । कपिलवस्तु, कैलाली र रोल्पामा दुई-दुई जनाको तथा लमजुङ र पूर्वी नवलपरासीमा एक-एक जनाको मृत्यु भएको हो ।
आज बिहान ७ बजे खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर कपिलवस्तुको बुद्धभूमि नगरपालिका १०, धनकौलीका १७ वर्षीय राजु ठाकुर र यशोधरा गाउँपालिका ६, भैसहियाका २२ वर्षीय महेश कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेशविक्रम शाहीले जानकारी दिनुभयो ।
यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका १८ का २७ वर्षीय शालिम चौधरी र जोशीपुर गाउँपालिका भित्रियाका ३१ वर्षीय जयराम डगौराको मृत्यु भएको हो । डगौरा आफ्नै घरनजिक रहेको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर घाइते भएकामा स्थानीय क्लिनिकमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।
चट्याङ लागेर पाँचजना घाइते भएको र उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, रोल्पामा चट्याङ लागेर सुनछहरी ३, बाहिरीगामकी २२ वर्षीया जैता घर्तीमगर र १४ वर्षीया गोमाला घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै लमजुङको चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेलको चट्याङ लागेर मृत्यु भएको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १४, अग्यौली की ४६ वर्षीया दिलकुमारी थरुनीको मृत्यु भएको हो । खेतमा धान रोप्ने क्रममा थरुनीलाई चट्याङ लागेर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको हो ।