मिटरब्याजी सूर्जमान मालीलाई १० वर्ष कैद र ५० हजार जरिवाना

असार ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
मिटरब्याजी सूर्जमान मालीलाई १० वर्ष कैद र ५० हजार जरिवाना

काठमाडौं । जिल्ला अदालत ललितपुरले मिटरब्याजी सूर्जमान मालीलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा १० वर्ष कैद र ५० हजार जरिवाना हुनेगरी सजाय तोकेको छ ।

ललितपुरकी एक महिलालाई पाँच लाख ऋण दिएको आडमा जबरजस्ती करणी र र घरजग्गा कब्जा गर्ने मालीलाई दोषी ठहर गर्दै ललितपुर जिल्ला अदालतकी न्यायाधीश रीताकुमारी बख्रेलको एकल इजलासले आज सजाय तोकेको हो ।

पीडित महिलालाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने आदेशसमेत अदालतले गरेको छ ।

यस्तै महिलालाई यौनशोषण गर्न सघाउने उमेश शाहीको हकमा एक महिना कैद, दुई हजार जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश गरेको छ ।

पीडित महिलाले मदिराको कुलतमा फसेका पतिको उपचार गर्न आफन्त पर्ने मालीबाट ०७५ सालमा पाँच लाख रुपैयाँ ऋण लिएको ऋणको मासिक ब्याज ५० हजार थियो ।

यसपछि ऋणको ब्याज घटाइदिने भन्दै ती महिलामाथि पटक-पटक करणी गरेका मालीले ५५ लाख रुपैयाँको तमसुक गराएर घरजग्गा नै कब्जा गरेका थिए ।

उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा ०८० भदौ ५ गते मुद्दा दर्ता गरिएको थियो । न्यायाधीश बख्रेलको एकल इजलासले गत जेठ १३ गते मालीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा दोषी ठहर गरेको थियो । आज सजाय निर्धारण गरिएको हो । माली कारागारमा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.