देशभर चुलियो पानीको समस्या, चुरेका ७९ प्रतिशत मुहान सुके

असार ३, २०८१ |अनिल मिश्र
देशभर चुलियो पानीको समस्या, चुरेका ७९ प्रतिशत मुहान सुके

धनुषा । मानवबस्ती विस्तारसँगै प्राकृतिक स्रोतको अधिक दोहन, वनजंगल विनाश, जलाधार क्षेत्रको संरक्षण तथा व्यस्थापनको अभावमा देशभर पानीको समस्या चुलिएको छ । चुरे क्षेत्रमा सबैभन्दा बढी ७९ प्रतिशत, हिमाली क्षेत्रमा ६४ प्रतिशत र पहाडी क्षेत्रमा ४६ प्रतिशत पानीका मुहान सुकेको तथ्य सार्वजनिक भएको छ ।

तीनै सरकारले प्रयास थाले पनि त्यसको परिणाम देखिएको छैन । भविष्यमा पानीको अझ विकराल समस्या हुने चिन्ताले मधेशका जनता पानीको माग गर्दै लामो समयको पदयात्रापछि काठमाडौंको माइतीघरअगाडि धर्नामा छन् ।

चुरे क्षेत्रको जंगल विनाश, खोरिया फँडानी, ढुंगा, गिट्टी र बालुवा निकासीलगायत कारण मधेश प्रदेशमा खानेपानीको चरम अभाव भएको हो । पानीका स्रोत नै सुकेपछि जमिनमुनिको पानीको सतह पनि निकै तल गएकाले चापाकल र इनारसमेत सुक्नथालेका छन् । चुरे जलाधार क्षेत्रको संरक्षण एवं व्यस्थापनको अभावमा पानीका लागि विश्वकै धनी कहलिएको हाम्रो देशमा खानेपानी अभाव छ ।

मधेस प्रदेशका नौ लाख ३१ हजार तीन सय ३१ घरधुरीमध्ये झन्डै ७७ प्रतिशतको पिउने पानीको मुख्य स्रोत चापाकल हो । तर, भूमिगत पानीको सतह घट्दै गएकाले पाँच सय फिटभन्दा कम गाडिएको चापाकलमा पानी आउन छाडेपछि प्रदेशको राजधानी जनकपुरमा समस्या विकराल बनेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जनकपुरमा ४० हजार ४ सय ९ घरधुरीमध्ये करिब २० प्रतिशत घरमा मात्रै खानेपानीको पाइप प्रणालीको पहुँच छ ।

३४ वर्ष पुरानो पानी वितरण प्रणालीको पहुँच पनि उपमहानगरका २५ मध्ये आधाजति वडामा मात्रै छ । जनकपुर नगर क्षेत्रमा दैनिक दुई करोड ५० लाख लिटर पानीको माग रहे पनि खानेपानी संस्थानले हाल ३० लाख लिटरमात्रै आपूर्ति गर्न सकेको सूचना अधिकारी सुधीरकुमार सिंह बताउनुहुन्छ ।

जनकपुर उपमहानगरपालिकाले संस्थानलाई डिपबोरिङका लागि जग्गा उपलब्ध गराउन सकेको छैन । साथै कटैयाचौरीमा १२ वर्षअघि एक करोडभन्दा बढीको लागतमा निर्माण गरिएका डिप ट्युबबेल अहिलेसम्म सञ्चालनमा ल्याउन नसकेको स्थानीय विनोदचन्द्र झा बताउनुहुन्छ ।

आर्थिक सर्वेक्षण ०७९/८० अनुसार प्रदेशका १२.१५ प्रतिशत घरधुरी त खानेपानी प्रणालीमै समेटिएका छैनन् भने १०.४६ घरधुरीमा मात्रै पाइप प्रणालीबाट पानीको पहुँच पुगेको छ । त्यसबाहेक ७६.९१ प्रतिशत घरधुरीमा चापाकल, ०.४७ प्रतिशतमा अन्य सुरक्षित स्रोत र ०.०१ प्रतिशतलाई बर्खाको पानीको भर छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।