दशौं चुरे संरक्षण दिवस मनाइँदै

असार २, २०८१ |कान्तिपुर टीभी संवाददाता
दशौं चुरे संरक्षण दिवस मनाइँदै

काठमाडौं । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले आज स्थापनाको अवसरमा दशौं चुरे संरक्षण दिवस मनाउँदै छ । समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षरोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । सरकारले २०७१ साल असार २ गते सो समितिको गठन गरेको थियो ।

नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ वटा जिल्लामा कूल भू–भागको १२ दशमवलव ७८ प्रतिशत क्षेत्रमा फैलिएर रहेको अत्यन्त संवेदनशील र कमजोर अवस्थाको चुरे पहाड तराई मधेसको अस्तित्वसँग अन्योन्याश्रित सम्बन्ध राख्दछ ।

चुरे क्षेत्र भौगर्भिकरूपमा कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट अति जोखिमयुक्त, जैविक विविधतामा धनी रहेको, दुर्लभ वन्यजन्तुको वासस्थान र जैविक मार्ग हो । बलौटे ढुङ्गा एवं माटो ढुङ्गा सङ्गुरीकाले बनेका कारण चुरे भूभाग निकै कमजोर छ ।

अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुला चरिचरण र नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण, भू–क्षयजस्ता कारणले यो क्षेत्र झनै संवेदनशील बन्दै गएको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र संवर्द्धन गर्ने उद्देश्य लिएको एकमात्र राष्ट्रिय गौरवको आयोजना हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.