नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको सोह्रौं बैठक आज बस्दै

सीमा व्यवस्थान, सीमापार व्यापार र चिनियाँ लगानीका परियोजना मुख्य एजेन्डा
असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको सोह्रौं बैठक आज बस्दै

काठमाडौं । नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौंमा बस्दै छ । चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन र नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्ने बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा द्विपक्षीय सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयको भनाइ छ ।

बैठकमा भाग लिनका लागि चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ सोमबार नेपाल आइसक्नु भएको छ । तीन दिने नेपाल भ्रमणमा रहेका उपविदेशमन्त्री सुनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्नु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा हिजो भएको भेटमा प्रधानमन्त्री दाहाल र उपविदेशमन्त्री सुनबीच नेपाल-चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नेपालले चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत एजेन्डा छलफलका लागि तय गरेको छ । यस्तै व्यापारमा नेपालबाट राँगाको मासु र हेलेज घाँस निर्यात गर्ने, व्यापार तथा भुक्तानीमा विज्ञ समूहको बैठक बस्नेबारे पनि छलफल हुने जनाइएको छ । साथै सीमापार २२० केभी प्रसारण लाइन निर्माण र नेपालमा चिनियाँ लगानीका परियोजनाहरूलाई छिटो सम्पन्न गर्नेबारे पनि बैठकमा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै सन् २०१६ मा गरिएको यातायात र पारवहन सन्धि कार्यान्वयनमा पनि नेपालले जोड दिने, गत साता नेपाल र चीनबीच बेइजिङमा भएको नापी विभागका महानिर्देशकस्तरीय द्विपक्षीय बैठकबाट प्राप्त सुझावकाबारेमा पनि छलफल हुने परराष्ट्र मन्त्रलयको भनाइ छ ।

सन् २०१७ मा नेपाल र चीनबीच सम्झौता भएको बीआरआईको प्रगतिबारे चर्चा गर्ने र सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौता र फौजदारी विषयमा पनि पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतालाई बैठकमा चीनले उठाउने आकलन छ ।

 संयन्त्रको १५औं बैठक गत वर्ष बेइजिङमा भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement