पूर्वी रुकुमको झुम्लाबाङमा रहेको फलाम खानी उत्खनन थाल्ने खानी तथा भूगर्भ विभागको तयारी

खानी स्थलमा रहेका करिब १ सय घरधुरी स्थानान्तरण गर्नुपर्ने
जेष्ठ ३२, २०८१ |महेश केसी
पूर्वी रुकुमको झुम्लाबाङमा रहेको फलाम खानी उत्खनन थाल्ने खानी तथा भूगर्भ विभागको तयारी

रुकुम पूर्व । पूर्वी रुकुमको भूमे गाउँपालिका-३ झुम्लाबाङमा फलाम खानी रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागले विभिन्न चरणमा गरेको अध्ययनले यो देशकै सबैभन्दा ठूलो फलाम खानी हुनेसमेत दाबी गरिएको छ ।

झुम्लाबाङमा उहिले तामा खानी थियो भन्ने स्थानीयको दाबीलाई आधार बनाएर यसको अध्ययन गर्न गत वर्ष जेठमा खानी तथा भूगर्भ विभागको टोली पहिलोपल्ट यहाँ पुग्यो तर प्रारम्भिक अनुसन्धानबाट यो टोलीले यहाँ तामा भन्दा फलाम खानी रहेको पत्ता लगायो । 

त्यसपछि वर्षको मङ्सिर र पुसमा यो खानीको विस्तृत अध्ययनको काम समेत सकिइसकेको छ । अहिलेसम्म टोपोलोजिकल सर्भे, भौगर्भिक नक्साङ्कन, च्यानल स्याम्पलिङ र वातावरणीय अध्ययनको काम सकिएको छ । ११ सय वटा नमुना निकालेर अहिले त्यसको परीक्षणको काम भइरहेको छ । फलामको परिमाण र गुणस्तरबारे लगभग स्पष्ट भइसकेको भन्दै विभागले अब उत्खननको प्रक्रियामा जाने बताएको छ । 

करिब ५ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको भनिएको फलाम खानी उत्खनन गरेर व्यावसायिक प्रयोगमा ल्याउने खबरले  प्रायः खुसी भए पनि स्थानीय भने आफूहरूको उठिबास लाग्ने हो कि भन्ने पिरमा छन् । तर आफ्नो पालिकाभित्र देशकै ठूलो फलाम खानी भएको र यसलाई उत्खनन गरेर देश विकासमा टेवा पुग्ने कुराले स्थानीय सरकारमा भने उत्साह थपिएको छ । 

खानी स्थलमा करिब एक सय घरधुरी छन् । खानी उत्खनन सुरु भएपछि यहाँको मानव बस्ती स्थानान्तरण गर्नुपर्ने हुन्छ । तर यस विषयमा तीनै तहका सरकारले कुनै स्पष्ट योजना सार्वजनिक गरेका छैनन् ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।