काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले निजी वनको दिगो व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।
पारिवारिक निजी वन संघको महाधिवेशन आज काठमाडौंमा उद्घाटन गर्दै उपराष्ट्रपति यादवले मुलुकमा काष्ठ र गैरकाष्ठ वन पैदावरको सहज आपूर्तिको व्यवस्था गर्नसके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । वातावरण संरक्षण र वनको दिगो विकासका चुनौतीहरुलाई अवसरका रुपमा परिणत गर्न सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।
उपराष्ट्रपति यादवले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका लागि निजी वनले पुर्याएको योगदानको मूल्यांकन हुनुपर्नेमा पनि जोड दिनुभयो ।
‘खेर गइरहेको निजी/आवादी जमिनमा हरियाली बनाउन छिटो छरितो बढ्ने बिरुवाहरुको रोपण अभियान सञ्चालन गरी जलवायु परिवर्तनका असरको न्यूनीकरणमा कार्ययोजनासहित रोडम्यापका साथ अघि बढ्न जरुरी छ,’ उहाँले भन्नुभयो, ‘बढ्दो बसाइसराइ, महत्त्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित सहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहना र आवश्यकता, जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनका कारणले हुने गरेको अतिवृष्टि, खण्डवृष्टि, अनावृष्टि आदि संरक्षण र दिगो विकासका लागि विद्यमान चुनौतीहरुलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भई अघि बढ्नुपर्छ ।’