विपिन जोशीको रिहाइका लागि निरन्तर पहल भइरहेको छ : राजदूत गोदर

सान्त्वनाका लागि विपिन जोशीको घरमा पुगे राजदूत हनान गोदर
जेष्ठ २७, २०८१ |हरिश्चन्द्र बाग
विपिन जोशीको रिहाइका लागि निरन्तर पहल भइरहेको छ : राजदूत गोदर

कञ्चनपुर । नेपालका लागि इजरायली राजदूत हनान गोदरले हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजरायल सरकारले निरन्तर पहल गरिरहेको बताउनुभएको छ ।

कञ्चनपुरस्थित विपिनको घरमा आज साँझ पुग्नुभएका गोदरले विपिनको खोजीका लागि आफूहरु निरन्तर लागिरहेकाले चिन्तित नहुन परिवारलाई आग्रह गर्नुभयो । राजदूत गोदर तथा विपिन अध्ययनरत कलेजका प्राध्यापकसहितको टोली घरमै पुगेको हो । राजदूत गोदरले विपिन पनि इजरायलका लागि परिवारका सदस्यजस्तै भएको उल्लेख गर्नुभएको थियो ।

विपिनका परिवारले पनि सकुशल रिहाइका लागि पहल गर्न इजरायली टोलीसँग आग्रह गरेको थियो ।

हमासका लडाकुहरुले गत अक्टोबर ७ मा इजरायलमा आक्रमणका क्रममा विपिनसहित दुई सय जनाभन्दा बढीलाई बन्धक बनाएर लगेका थिए । यो अवधिमा विपिनको रिहाइका लागि नेपालले विभिन्न तवरबाट प्रयास गरे पनि सफल हुन सकेको छैन ।

गत नोभेम्बरमा भएको संघर्षविरामका क्रममा एक सय जनाभन्दा बढी बन्धकलाई हमासले रिहा गरे पनि विपिनको रिहाइ भएन ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement