धादिङ । संघीय राजधानी काठमाडौंलाई ६७ जिल्लासँग जोड्ने मुख्य मार्ग नागढुङ्गादेखि मुग्लिनसम्म सडक विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ । सडक निर्माण भइरहँदा यात्रा झन्झटिलो त भइरहेको थियो नै, वर्षा सुरु भएसँगै यो सडकको यात्रा थप कष्टकर र पट्यारलाग्दो बन्न थालेको छ ।
काठमाडौंको नागढुङ्गादेखि धादिङको मलेखुसम्म ४५ किलोमिटर र मलेखुदेखि चितवनको मुग्लिङसम्म ३९ किलोमिटर सडक दुई खण्डमा बााडेर सडक विस्तारको काम भइरहेको छ । साँघुरो सडक त्यसमाथि पनि विस्तारका लागि ठाउँ-ठाउँमा भइरहेको कामले धेरै ठाउँमा सडक एकातर्फी भएको छ भने कतिपय स्थानमा भत्काएर छाडिएको सडक कच्ची सडक जस्तै बनेको छ । घाम लाग्दा धुलो र पानी पर्दा हिलाम्य हुनु सामान्य जस्तै बनेको राजमार्गमा पछिल्लो समय सामान्य वर्षातमा पनि कतिपय स्थानमा सवारी साधन उक्लनसमेत नसक्दा लामो समयसम्म जाम हुने गरेको छ । घण्टौंसम्म जाममा बस्नुपर्छ ।
निर्माणका क्रममा सवारी आवागमनमा केही अप्ठ्यारो स्वाभाविकै हो । तर सामान्य बर्सातमा समेत लामो समय जाम बस्नु पर्दा सवारी प्रयोगकर्ताले भोग्ने सास्ती कम गर्ने उपायका बारेमा कसैले ध्यान दिएको देखिँदैन ।
अहिले हरेक दिन राजमार्गमा यात्रा गर्ने झन्डै १३ हजार सवारीका डेढ लाख यात्रुले लामो जामको सामना गर्नु परेको छ । सडकको अवस्थाले ट्राफिक व्यवस्थापनसमेत कठिन देखिएको छ । यही अवस्था रहे मनसुनको समयमा थप समस्या आइपर्ने निश्चित छ ।
नौबिसे खण्डमा कालोपत्रेको काम सुरु भए पनि महादेव बेसी, गल्छी, आदमघाट, मलेखु खण्डमा कामको गति सुस्त छ । निर्माणको यो गतिले मनसुनअघि काम नसकिने अनुमान लगाउन गाह्रो छैन । त्यसैले यात्रुले झनै सास्ती खेप्नुपर्ने निश्चित छ ।
सडक विभाग भने विभिन्न बाहानामा सडक बन्न अझै समय लाग्छ भन्दै पन्छिरहेको छ । सडक विभागका उपमहानिर्देशक विजय जैशीले पृथ्वी राजमार्गको गुणस्तर सुधारका लागि अझै एक वर्ष लाग्ने बताउनु भएको छ । ठेकेदारको कमजोरीका कारण सडक सुधारमा समस्या भएको उहाँको भनाइ छ ।