डडेलधुरा । बर्सेनि बाढीको पीडा भोग्दै आएका डडेलधुराको भित्री मधेस क्षेत्रका दर्जनौं गाउँ यस वर्ष पनि बाढीको उच्च जोखिममा छन् । परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका एक दर्जनभन्दा बढी गाउँका हजारौं बासिन्दामा सम्भावित बाढीको त्रास छ । तर, पनि नदी नियन्त्रणको पहल भने हुन सकेको छैन ।
पाँच वर्षअघि महाकाली नदीमा आएको बाढीले परशुराम-६ का अकबर भट्टको घर खेत बगायो । बाँकी रहेको थोरै जमिनमा सानो टहरो बनाएर बसिरहनु भएका भट्टलाई अहिले पनि आकाशमा बादल लाग्दा त्यही टहरो पनि बगाउने हो कि भन्ने चिन्ता छ ।
अकबरलाई मात्रै होइन, यहाँका ५० परिवारलाई यही चिन्ताले सताइरहन्छ । पूरै वडा बाढी कटानको जोखिममा छ । महाकाली, रंगुन, पन्तुरा र शीर्ष नदीले बर्सेनि यस क्षेत्रका दर्जन गाउँ कटान गर्ने गरेको छ । परशुराम नगरपालिका सरकुणा, सिसमजला, कुणा, कराली, भुरकुण्डा, तातोपानी, चन्दनी, सिमलखेत, कटाल, परिगाउँ र बासगैरा तथा आलिताल गाउापालिकाका गोदाम, घुम्ती, स्यालचौडी लगायत गाउँ नदी कटानको जोखिममा छन् ।
महाकाली नदीमा तटबन्ध नभएकै कारण हरेक बर्सातसँगै स्थानीयलाई बाढीको त्रासले सताउँछ । बर्सात भएको दिन मध्यरातमा सुरक्षित स्थान खोज्नु पर्ने बाध्यता छ । ४५ हजार जनसंख्या रहेको यस क्षेत्रमा ३५ प्रतिशतले बाढी पहिरोको जोखिम भोगिरहेका छन् ।
जिल्लाकै आधा जनसङ्ख्याको बासोबास रहेको यो क्षेत्रबाट स्थानीयलाई बर्सेनि सुरक्षित स्थानमा सर्नुपर्ने बाध्यता छ । यति धेरै जोखिम हुँदासमेत नदीमा तटबन्ध भने निर्माण हुन सकेको छैन ।
वर्षैपिच्छे गाउँहरु बगरमा परिणत भइरहेका छन् । बस्ती उजाड बन्दै छन् । विस्थापितको संख्या थपिँदै छ । तर पनि नदी नियन्त्रणमा ठोस पहल हुनै सकेको छैन ।