काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले भेरीगंगा नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ मा नदीजन्य पदार्थहरु ढुंगा र बालुवा ठेक्का दिँदा कानुन मिचेर आर्थिक अनियमितता गरेको अख्तियारको भन्दै ३६ लाख ७८ हजार रुपैयाँ बिगो कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पौडेल र तत्कालीन लेखा अधिकृत मानबहादुर ठाडाविरुद्ध ३६ लाख ७८ हजार रुपैयाँ बिगोबमोजिम जरिवाना र कैद माग गर्दै मुद्दा दायर भएको छ ।
यस्तै तत्कालीन इन्जिनियर विजयकुमार खत्री, सब-इन्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिरकुमार खड्का, प्रशासकीय अधिकृत पीताम्बर पौडेल, प्राविधिक सहायक उज्ज्वल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै र सह-लेखापाल छविलाल सुनारविरुद्ध पनि मुद्दा दायर भएको छ ।
यसैगरी न्यु हरि निर्माण सेवा सुर्खेतका प्रोपाइटर हरिबहादुर बुढा क्षेत्री र नवराज कन्स्ट्रक्सनका प्रोपाइटर नवराज ढकाल तथा एञ्जल कन्सट्रक्सन वीरेन्द्रनगर, सुर्खेतका प्रोपाइटर भीमबहादुर बुढा क्षेत्रीविरुद्ध २१ लाख १ हजार रुपैयाँ बिगो असुलीको माग गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।