शे-फोक्सुण्डो निकुञ्जमा दुर्लभ ९० हिउँ चितुवा भेटिए

चैत्र २९, २०८० |राजबहादुर शाही
शे-फोक्सुण्डो निकुञ्जमा दुर्लभ ९० हिउँ चितुवा भेटिए

मुगु । कर्णाली प्रदेशअन्तर्गत मुगु र डोल्पा जिल्लामा फैलिएको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ ९० वटा हिउँ चितुवा भेटिएको निकुञ्जले जानकारी दिएको छ ।

सन् २०१९ मा हिउँ चितुवा गणनाको लागि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ३ सय १९ वटा स्वचालित क्यामेरा जडान गरिएको र उक्त क्यामेराको प्राप्त रिर्पोटअनुसार ९० वटा हिउँ चितुवा भेटिएको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले कान्तिपुर टेलिभिजनलाई जानकारी दिए ।

उक्त रिर्पोट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व सिमसार दिवसको अवसर पारेर २ फेब्रुअरी २०२४ मा सार्वजनिक गरिसकेको उनको भनाई छ ।   स्वचालित क्यामेरा ट्राप जडान गरिएको करिब १ वर्ष पछि हिउँ चितुवाको तथ्यांक विश्लेषण गर्ने कार्य सुरु गरिएको निकुञ्जले जनाएको छ ।

नेपाल सरकार र विश्व वन्यजन्तु कोषले प्रथम पटक २००९ मा साइन सर्भे अर्थात् हिउँ चितुवाको पाइला, दिसा-पिसाब प्रविधिबाट गणना गर्दा १ सय १० देखि १ सय ३० को अनुमानित तथ्याङ्क रहेको वरिष्ठ निकुञ्ज संरक्षण अधिकृत श्रेष्ठको भनाई छ ।

२०१९ सम्पन्न क्यामेरा ट्रापिङ सर्वेक्षण प्रविधि पछिल्लो विकसित प्रविधि हो । यस प्रविधिको प्रयोग गरी हिउँ चितुवाको गणना डोल्पामा पहिलो पटक गरिएको विश्व वन्यजन्तु कोषका अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत चन्द्रजंग हमालले जानकारी गराए ।

हिउँ चितुवाको मुख्य आहारा- झारल, घोरल, नाउर रहेको र सोही झारल घोरल र नाउरको सङ्ख्या निकुञ्जमा ४ हजार भन्दा बढी रहेको निकुञ्जले जनाएको छ ।

निकुञ्जमा जडान गरिएको क्यामेराको कभरेज क्षेत्र ४ हजार ८ सय वर्ग कि.मि. रहेको छ । प्राप्त नतिजाले प्रति १ सय वर्ग किलोमिटर दुई-दुई रहेको देखिने गरेको निकुञ्जले जनाएको छ ।

विक्रम संवत् २०४० सालमा स्थापना भएको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको घनत्व नेपालकै उच्च रहेको विश्व वन्यजन्तु कोषका अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत हमालले जानकारी गराए । अधिकृत हमालका अनुसार निकुञ्ज क्षेत्रको करिब २५ सयदेखि ५५ सय मिटर उँचाइमा हिउँ चितुवा भेटिने गरेका छन् ।

निकुञ्जले ३ हजार ५ सय ५५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यो निकुञ्ज भित्र मुगुको मुगुम् कार्मारोङ गाउँपालिकासहित डोल्पाका तीनवटा गरी ४ वटा स्थानीय तह पर्छन् । 


Image

राजबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका मुगु संवाददाता हुन् ।