रामहरि श्रेष्ठको हत्या आरोपमा माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ

चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
रामहरि श्रेष्ठको हत्या आरोपमा माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ

काठमाडौं । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा फरार रहेका माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम काठमाडौंबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खामलाई मंगलबार दिउँसो ठमेलबाट पक्राउ गरेको हो । विगत १५ वर्षदेखि फरार रहेका खाम माओवादी पार्टीको नेतृत्वको संरक्षणमा थिए ।

पक्राउ परेका खामलाई चितवन पठाउने तयारी छ । २०६३ मा माओवादी शान्तिप्रक्रियामा आएपछि व्यापारी श्रेष्ठको कोटेश्वरस्थित घरमा तत्कालीन माओवादीको तेस्रो डिभिजनले सम्पर्क कार्यालय बनाएको थियो । त्यहाँ पैसा र हतियार हराएको घटनाको सोधपुछका लागि भन्दै श्रेष्ठलाई १५ वैशाख २०६५ मा नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित शिविरमा पुर्‍याइएको थियो ।

त्यही नै कुटपिटबाट उनको ज्यान गएको थियो । शक्तिखोर शिविरबाट मारिएका रामहरिकी पत्नी रमिलाले खाम र गोविन्दबहादुर बटालासहितविरुद्ध २०६५ जेठ ८ गते किटानी जाहेरी दिएकी थिइन् । 

सोही घटनामा माओवादीका तत्कालीन तेस्रो डिभिजनका ब्रिगेड कमान्डर गोविन्द बटाला, कमान्डर कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्कीविरुद्ध चितवन जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा चलाइएको थियो । तर श्रेष्ठको शव जेठ १२ गते नारायणी नदीमा भेटियो । तत्काल शक्तिखोर शिविरले भने उपचारका लागि लाँदै गर्दा बाटोमा मृत्यु भएको रिपोर्ट दिएको थियो ।

२०६८ जेठ १७ मा अदालतले बटालालाई ३ वर्षको कैद सजाय तोकेको थियो भने खाम, अधिकारी र थापा फरार रहेको भन्दै उनीहरुको मुद्दा मुल्तबीमा राखिएको थियो । बटालालाई भने सर्वोच्च अदालतले २०७६ फागुन १८ मा सफाइ दिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.