दमकको बालुवाटार जग्गा प्रकरण : भूमाफियाले सर्वसाधारणका जग्गासमेत हत्याए

चैत्र ११, २०८० |रमा दाहाल
दमकको बालुवाटार जग्गा प्रकरण : भूमाफियाले सर्वसाधारणका जग्गासमेत हत्याए

झापा । झापाको दमकस्थित बालुवाटारको करिब ४० बिघाभन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा पास गरिएको घटना यतिबेला चर्चामा छ । सो घटनामा संलग्न भएको अभियोगमा अख्तियारले गत फागुनमा स्थानीय माओवादी नेता रेवतराज पुरीसहित १८७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मालपोत र नापीका कर्मचारीसँगको मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गराउन सफल भूमाफियाहरुले अन्य व्यक्ति र कम्पनीको नाममा रहेको नम्बरी जग्गा पनि आफ्नो नाममा ल्याएर बिक्री गरिसकेको थप प्रमाणहरु फेला पर्दै गएका छन् ।

मोरङको बाबा फिड्सले २०५६ सालमा दमक ६, ग को बालुवाटारमा जग्गा किन्यो । बैंकमा ऋण लिँदा धितोमा राखिएको यो जग्गा २०७७ सालमा फुकुवा गर्न यसका सञ्चालक नापी कार्यालय पुग्दा भने जग्गा अर्कैको नाममा पास भइसकेको पत्तो पाए । कित्ता नम्बर ९४९ को यो एक बिघा जग्गा कित्ताकाट भएर नापी कार्यालय झापाकै तत्कालीन प्रमुख विन्देश्वर पञ्जियार र सर्वेक्षक सीताराम यादवका नातेदार प्रेमकुमारी पञ्जियार र बालकुमारी यादवको नाममा दर्ता छ । जग्गा ३३,५१९ र ३३,५२० नम्बर कित्ता बनेर टुक्रिएको छ ।

२०६७ सालदेखि २०७१ सालसम्म जग्गा हालसाबिक गर्ने क्रममा स्वबासी दर्ता प्रक्रियाबाट व्यक्तिको नाममा दर्ता गरिएको पाइएको छ । यो खेलमा मालपोत र नापी कार्यालयका कर्मचारी, राजनीतिक दलका स्थानीय नेता र भूमाफियाको गिरोह सक्रिय बनेको अख्तियारको प्रतिवेदनबाट छर्लंग हुन्छ । मालपोत र नापी कार्यालयमा जग्गाको कागजात अद्यावधिक छैन भने कर्मचारी पनि जिम्मेवारीबाट पन्छिने प्रयास गरिरहेका छन् ।

स्थानीय माओवादी नेता रेवतराज पुरीलाई मुख्य प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको पनि एक महिना हुनै लाग्यो । यो बीचमा अख्तियारबाट दोषी करार गरिएकाहरु आफूलाई निर्दोष सावित गर्न शक्तिकेन्द्र धाइरहेका छन् । यता आफ्नो नाममा रहेको जग्गा अर्कैले कब्जा गरेर बिक्री गरिसकेपछि पीडित बनेकाहरुले न्याय खोज्दै भौंतारिनु परेको छ ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।