सर्लाही । सर्लाहीमा उखु बोकेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । नयाँरोड–मधुवनी सडक अन्तर्गत सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियास्थित शान्ति चोकमा सोमबार अबेर राति उखु बोकेको ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
बलराबाट उखु बोकेर हरिवन चिनीमिलतर्फ आउँदै गरेको ज १ त ९८७६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट जाँदै गरेको ज ४ प ३७७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।
दुर्घटनामा परि मोटरसाइकल चालक बरहथवा नगरपालिका–५, राजुचोक बस्ने २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकलमा सवार २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको हो । हरिन्द्रको एडभान्स सन्जिवनी अस्पताल बरहथवा र पुरुषोत्तमको बयोधा अस्पताल वीरगन्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक बलरा नगरपालिका–७, बस्ने ३८ वर्षीय वीरेन्द्र महतोलाई पक्राउ गरेको छ ।