बीपीको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदै

पुस १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
बीपीको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदै

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाउन लागिको हो ।

२०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो ।

भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहनुभएका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिइ आजभन्दा ४६ वर्षअघि स्वदेश फर्कनुभएको हो । देशको सार्वभौमसत्ता संरक्षणका लागि बीपीलगायत नेता ज्यान बाजी थापेर स्वदेश फर्कनुभएको थियो ।

२०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । सोही वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।

आठ वर्षपछि २०२५ मा उपचारका लागि बीपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुग्नुभएका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप सुरु गर्नुभएको थियो । त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेर राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिइ ४९ वर्षअघि आजैका दिन उहाँलगायत नेता नेपाल फर्कनुभएको हो ।

विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगेर बन्दी बनाइएको थियो । २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भइ कारागारमा फर्कने गरी कोइरालालाई रिहा गरिएको थियो । मेलमिलाप दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement