५ कक्षा पढ्ने छात्रामाथि शिक्षिकाले निर्घात कुटपिट गरेपछि...

चैत्र ५, २०८० |आश गुरुङ
५ कक्षा पढ्ने छात्रामाथि शिक्षिकाले निर्घात कुटपिट गरेपछि...

लमजुङ । लमजुङको सुन्दरबजारमा रहेको बालज्योति बोर्डिङ स्कुलमा अध्ययनरत छात्रामाथि प्रश्नको उत्तर नजानेको भन्दै शिक्षिकाले निर्घात कुटपिट गरेकी छन् ।

सुन्दरबजार नगरपालिका ७ मा रहेको स्कुलमा स्वास्थ्य विषय पढाउने शिक्षिका फराना मियाँले कक्षा ५ मा अध्ययनरत ११ वर्षीया छात्रामाथि निर्घात कुटपिट गरेकी हुन् ।

घाइते बालिकाका अनुसार शिक्षिकाले दुई दिनअघि नै प्रश्नको उत्तर नजानेको भन्दै हातमा पिटेकी थिइन् । त्यसबेला बालिकाको औंलामा रगत जमेको थियो । ‘आइतबार १२ बजेतिर क्लासमा शिक्षिकाले मलाई पाँचवटा प्रश्न सोध्नुभयो, पहिलो प्रश्न मिलाए पनि दोस्रो प्रश्नको उत्तर नजानेपछि उहाँले बाँसको लौरीले बेस्सरी पिट्नभयो,’ पीडित बालिकाले कान्तिपुर टेलिभिजनसँग भनिन्, ‘हात दुखेको भनेपछि खुट्टामा पिट्न थाल्नुभो । दुख्यो भन्दा पनि पिट्न छाड्नुभएन ।’

कुटाइका कारण पीडित बालिकाको दुवै खुट्टाका पिँडौला सुन्निएको छ । नीलडाम स्पष्ट देखिन्छ । पीडित बालिकालाई सुन्दरबजार अस्पतालमा जाँचका क्रममा पिँडौलामा रगत जमेको पाइएको छ । चिकित्सकले घाउमा ड्रेसिङ गर्दै केही साताका लागि औषधि दिएको घाइते बालिकाकी आमा देउमाया गुरुङले जनाइन् ।

‘हामीले विद्यालयमा राम्रा कुरा सिक्न पठाएका हौं, यसरी कुट्न पाइन्छ ? कुटपिट गर्ने शिक्षिकामाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ,’ देउमायाले भनिन् ।

सुन्दरबजार अस्पतालमा एक्सरे सुविधा नहुँदा आज अन्य अस्पतालमा उपचार गराउने तयारी रहेको पनि उनले जनाइन् । बालिकामाथि १२ बजे कुटपिट भए पनि उनलाई स्कुल बन्द हुने समय ४ बजेपछि मात्र निस्कन दिएको थियो ।

घटनापछि कुटपिट गर्ने शिक्षिकामाथि कारबाही हुनुपर्ने आवाज उठ्न थालेको छ । घाइते बालिकाकी परिवारलगायत स्थानीय बासिन्दाले कुट्ने शिक्षिकामाथि कारबाही हुनुपर्ने माग राखेका छन् ।

विद्यालयका अध्यक्ष बद्रीमान श्रेष्ठले शिक्षिकाबाट कुटपिट भएको कुरा जानकारी प्राप्त भएको बताए । उनले भने, ‘म काम विशेषले बाहिर थिएँ, घट्नाबारे जानकारी पाएको छु । आज छलफलमा बोलाएको छु । घट्नाबारे म विस्तृत बुझ्छु ।’

घट्नाबारे इलाका प्रहरी कार्यालय सुन्दरबजारमा मौखिक जानकारीसमेत गराइएको छ । प्रहरीले विद्यालयको छलफलको निष्कर्ष आएपछि थप अनुसन्धान गर्ने जनाएको छ ।


Image

आश गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका लमजुङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement