खोटाङमा ठाउँ- ठाउँमा डढेलो, चार घर जले

चैत्र ३, २०८० |उत्तम चौलागाईं
खोटाङमा ठाउँ- ठाउँमा डढेलो, चार घर जले

खोटाङ । डढेलोले खोटाङमा चार घर जलेका छन् । सामुदायिक वनमा लागेको डढेलोले हलेसी तुवाचुङ नगरपालिकामा दुई घर र ऐँसेलुखर्क गाउँपालिकामा दुई घर जलेका हुन् ।

स्थानीय राते खोला सामुदायिक वनमा लागेको डढेलोले शनिबार हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ज्ञानमायाँ राईको घर र गोठ, देवराज राईको घर र दुई वटा गोठ तथा ईश्वरमायाँ राईको गोठ जलेको हो । यस्तै, दुधकोसी जलविद्युत आयोजनाको १० ड्रम डिजेल जलेर नष्ट भएको छ ।

यस्तै, सतिदेवी र खेमकाजी सामुदायिक वनमा डढेलोले ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका खुतप्रसाद फुयाँल र बुद्धिनाथ लम्सालको घर जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक बेनु कार्कीले बताए । सोही ठाउँका युवराज राईको गाई गोठ र बाख्रा खोर लगायत जलेको छ ।

डढेलोले ज्ञानमायाँको घरसहित ३ वटा खसी, ५ वटा बाख्रा, एउटा गोरु, १० वटा कुखुरा जलेका छन् । देवराजको घरसहित ४ वटा खसी, एउटा बाख्रा, ६ वटा पाठापाठी जलेको धितुङका वडाध्यक्ष टेकराज राईले जानकारी दिए । एक साता यता जिल्लाका विभिन्न जंगलमा डढेलो लागिरहेको छ ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।