झापाको दमकस्थित जग्गा हिनामिना गरेको आरोपमा ३ सय ५९ जनाविरुद्ध २ वटा मुद्दा दायर

४७ विगाहाभन्दा बढी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अख्तियारको दाबी
फाल्गुन १३, २०८० |कान्तिपुर टीभी संवाददाता
झापाको दमकस्थित जग्गा हिनामिना गरेको आरोपमा ३ सय ५९ जनाविरुद्ध २ वटा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा दमक नगरपालिकाको साबिक वडा नम्बर १३ र १४ मा पर्ने बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गराएको अभियोगमा दुई वटा मुद्दा दायर गरेको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै एउटामा १ सय ८७ र अर्कोमा १ सय ७२  जनालाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा  मुद्दा दायर गरेको हो । 

अख्तियारले नापी कार्यालय झापाका तत्कालीन अधिकृत रामदेव मण्डल धानुकसहित १ सय ८७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी गैरकानुनी लाभ तथा हानी पुर्‍याएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । नापी कार्यालय चन्द्रगढी, झापाका ९ कर्मचारी तथा सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता कायम गरेका सुरु जग्गा दर्तावाला ६५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । 

त्यस्तै बिगो असुल उपर तथा जग्गा जफत प्रयोजनका लागि मात्रै १ सय १३ गरी जम्मा १ सय ८७ विरुद्ध मुद्दा दायर गरिएको हो ।  १८ बिगाहा १७ कट्ठा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता कायम गरिएको अख्तियारले उल्लेख गरेको छ । जसको न्यूनतम मूल्याङ्कन ४१ करोड ६२ लाख १९ हजार गरिएको छ ।

 

त्यस्तै अर्को मुद्दामा नापी कार्यालय चन्द्रगढीका १०, मालपोत कार्यालय दमकका ११ र नापी कार्यालय दमकका ७ सहित ३६ सरकारी कर्मचारीविरुद्ध सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै मुद्दा दर्ता गरिएको छ । 

यो मुद्दामा बिगो असुल उपर तथा जग्गा जफत प्रयोजनका लागि १ सय ८ जना गरी १ सय ७२ जनालाई प्रतिवादी बनाइएको छ । २९ बिगाहा १७ कट्टा हुने यो जग्गाको न्यूनतम मूल्य ३४ करोड ६६ लाख ५४ हजार हुन आउने अख्तियारको अभियोग पत्रमा उल्लेख गरिएको छ । 

उक्त जग्गालाई तह-तहमा राजीनामा वा अन्य प्रक्रियाबाट व्यक्तिको नाममा ल्याइएकाले नेपाल सरकारकै नाममा फिर्ता गर्नुपर्ने मागदाबी मुद्दामा लिइएको छ ।

दुवै मुद्दा गरी ३ सय ५९ जनाविरुद्ध मुद्दा दायर गरिए पनि केही प्रतिवादीहरू भने दोहोरिने अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.