हिमपातले सेताम्मे बन्यो रारा, किसान खुसी

फाल्गुन ८, २०८० |राजबहादुर शाही
हिमपातले सेताम्मे बन्यो रारा, किसान खुसी

मुगु । पर्यटकीय गन्तव्य रारामा हिमपात भएको छ ।

पुस, माघमा अत्यधिक हिमपात हुने रारामा फागुन लागेपछि हिमपात हुन थालेको छ । सोमबार मध्याह्‍नदेखि मौसममा बदली भई राति ३ बजेदेखि वर्षासँगै हिमपात भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी रेन्जर जयहरि धितालले जानकारी दिए ।

उनका अनुसार गएरातिबाट हिउँ पर्न सुरु गरेको र अझै परिरहेको छ । यसपटक रारामा बाक्लो हिमपात हुने सम्भावना देखिएको धितालको भनाइ छ । गत माघमा यहाँ दुईपटक हल्का हिमपात भएको थियो ।

फागुनमा रारामा हिमपात भएपछि घुम्न आउने आन्तरिक पर्यटक बढेसँगै निकुञ्जका कर्मचारी र होटेल व्यवसायी पनि उत्साही भएका छन् । यो हिमपातले आन्तरिक पर्यटकको आगमन बढेको व्यवसायी देवीकृष्ण रोकाया बताउँछन् ।

यसैगरी रारानजिक मुर्मा गाउँमा पनि हिमपात भएको छ । यस्तै फागुन लागेपछि छायानाथ रारा नगरपालिकाको ताल्च, मुन्दु, झयारी, बाम, घट्टलेखतिरका बस्तीका साथै श्रीनगर, कार्कीबाडा, भामबाडा, रुघामा वर्षा भएको छ ।

सोरु गाउँपालिकाको सोरुकोट, रुमका उच्च लेकाली गाउँमा पनि हिमपात भएको छ । मुगुम कार्मारोङ गाउँपालिकाको मुगु, डोल्फु किम्रीलगायत क्षेत्रमा हिमपातसँगै वर्षा भएको छ । हिमपात र वर्षाले स्थानीय किसान पनि खुसी भएका छन् ।


Image

राजबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका मुगु संवाददाता हुन् ।