अरुण चौधरीसहित ३ जनालाई रिहा गर्न आदेश दिने न्यायाधीश आचार्यको मुगु सरुवा

माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
अरुण चौधरीसहित ३ जनालाई रिहा गर्न आदेश दिने न्यायाधीश आचार्यको मुगु सरुवा

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको काज सरुवा भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले न्यायाधीश आचार्यको काज सरुवा भएको पुष्टि गरे । तर त्यसको कारण भने उनले खुलाएनन् ।

न्यायाधीशहरूको सरूवा न्यायपरिषद्‌ले गर्ने व्यवस्था छ । तर काज सरुवा भने प्रधानन्यायाधीशले गर्न पाउँछन् । परिषद् स्रोतले दिएको जानकारीअनुसार न्यायाधीश आचार्यले सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको आरोप लागेका व्यापारी अरूण चौधरीलाई छाड्ने आदेश अस्वाभाविक देखिएकाले काज सरुवा गरिएको हो । आचार्यमाथि छानबिनको तयारीसमेत भइरहेको बताइएको छ ।

बाँसबारी छाला जुत्ताको सरकारी जग्गा आफ्नो नाममा पुर्‍याएको भन्दै चौधरीसहित कारखानाका तत्कालीन प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सका अध्यक्ष सञ्जय ठाकुरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यही माघ १८ गते पक्राउ गरेको थियो ।

उनीहरुलाई सुरुमा चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमतिसमेत पाएको थियो । तर दोस्रोपटक म्याद थप गर्न २२ गते अदालत पुर्‍याइएका तीनै जनालाई थप दुई दिन मात्र हिरासतमा राख्न र त्यसपछि छाड्न न्यायाधीश आचार्यले आदेश दिएका थिए । अदालतको आदेशअनुसार प्रहरीले तीनै जनालाई २४ गते रिहा गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.