बाजुरा । बाजुरा सदरमुकाम मार्तडीमा रहेको खाद्य कम्पनीमा चामल किन्नेको भिड लागेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सस्तो मूल्य पर्ने मोटा चामल बिक्री गर्न थालेपछि किन्नेको भिड लागेको हो ।
यो डिपोमा गत भदौ २४ गते मोटा चामल सकिएकोमा झन्डै ६ महिनापछि चामल आएपछि त्यहाँका स्थानीय र सदरमुकाममा अध्ययनरत विद्यार्थी हरूको चामल किन्न भिड लागेको छ । पहिलो चरणमा माघ ११ गते १ सय क्विन्टल आएको मोटा चामल दुई दिनमै सकिएको थियो ।
त्यसपछि गत शुक्रबार १ सय क्विन्टल चामल आएपछि आइतबार चामल किन्नेको लामो लाइन लागेको हो । अहिले ठेक्का प्रक्रियामा रहेकोले थप चामलका लागि पहल भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराका प्रमुख उमेश भण्डारीले बताए । मार्तडीमा अहिले १ सय २० क्विन्टल जिरा मसिनो चामल मौज्दात रहेको कार्यालयले जनाएको छ ।
कम्पनीको कोल्टी बिक्री केन्द्रमा भने मोटा चामल नपुग्दा त्यहाँका नागरिक महँगीको मारमा परेका छन् । कोल्टीका लागि मोटा चामल मार्तडी पुगिसकेको भएपनि सडक अवरुद्ध हुँदा मार्तडीमै थन्किने भएको छ ।
मार्तडी कोल्टी सडकको अनाई खोलामा सडक भत्किएकाले उक्त सडक करिब एक हप्तादेखि सवारी आवतजावत बन्द छ । उता हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा असारमै चामल सकिएको थियो भने स्वामिकार्तिक गाउँपालिकामा नयाँ स्थापना भएको मुक्तिकोट अस्थायी बिक्री केन्द्रमा पनि गत जेठमै चामल सकिएको थियो ।