महोत्तरी र प्युठानका हिरासतमा यस्तो छ पुस्तकालय सुविधा

माघ १५, २०८० |विकास आर्या|शमशेरविक्रम जीसी|अनिल मिश्र
महोत्तरी र प्युठानका हिरासतमा यस्तो छ पुस्तकालय सुविधा

काठमाडौं । नेपालमा कारागारमा मात्र होइन, प्रहरी हिरासतमा पनि पुस्तकालयको व्यवस्था रहेको सुनेर अच्चम्म लाग्न सक्छ । तर, अहिले महोत्तरीमा अपराध अनुसन्धानको क्रममा हिरासतमा राखिएकाहरूका लागि पनि पुस्तकको व्यवस्था गर्न थालिएको छ । थुनुवाको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा सहित प्रहरीले पुस्तकालय स्थापना गरेको हो । यता प्युठानमा पनि कारागारमा पुस्तक अभियान सुरु भएको छ ।

यो कुनै पुस्तकालय नभई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासत कक्ष हो । किताब लिएर बसेका युवालाई हेर्दा लाग्छ, सुरक्षा घेरा भित्र कुनै प्रतियोगिता चलिरहेको छ । तर, यथार्थमा अपराध अनुसन्धानको क्रममा थुनामा रहेकाहरूका लागि प्रहरीले स्थापना गरेको पुस्तकालय हो । अहिले थुनामा रहेकाहरूले पुस्तकालयबाट लाभ लिइरहेका छन् ।

हिरासतमा दिन काट्न र आफ्नो आचरण सुधारमा यो पुस्तकालयले केही हद सम्म भए पनि सहज बनाएको छ ।

गत मङ्सिर ५ गतेदेखि सञ्चालनमा आएको यो पुस्तकालयमा उपन्यास, कथा, कविता, निबन्ध, धार्मिक ग्रन्थ, संस्मरण, कानुन, सामान्य ज्ञान जस्ता विधाका ५ सय भन्दा बढी पुस्तक राखिएको छ । स्वैच्छिक रूपमा पुस्तक दिनेहरुको अभिलेख पनि यहाँ राख्ने गरिएको छ ।

यता प्युठान कारागारमा पनि पुस्तक अभियान सुरु भएको छ । लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले कारागारमा पुस्तक अभियान सुरु गरेकी हुन् । गिरीले विभिन्न स्थानबाट पुस्तक संकलन गरेर कारागारमा पुस्तकालय नै स्थापना गरेकी छन् ।

प्युठान कारागारको पुस्तकालयमा पाँच सय पुस्तक उपलब्ध छन् । यहाँ विश्व प्रसिद्ध व्यक्तिको जीवनी, कथा, उपन्यास, दैनिक जीवनमा आई पर्ने समस्या र समाधानका विषय समेटिएका पुस्तक राखिएको छ । कैद जीवन कटाइरहेकाको आचरण सुधारमा पुस्तक अभियान फलदायी बनेको छ ।

२५ जनाको क्षमता रहेको प्युठान कारागारमा हाल ९३ जना कैदी बन्दी छन् । पुरानो र जीर्ण अवस्थामा रहेको कारागारमा पुस्तकालय बने पनि कैदी बन्दीका लागि छुट्टै बसेर पढ्ने स्थानको भने अभाव छ ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।

Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।

Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।