औँठाछाप नमिलेको भन्दै यातायात कार्यालयबाट सेवाग्राहीलाई सास्ती

कमिसनको लोभले कमसल मेसिन जडान गरेको आरोप
माघ १०, २०८० |अर्जुन सुवेदी
औँठाछाप नमिलेको भन्दै यातायात कार्यालयबाट सेवाग्राहीलाई सास्ती

सुनसरी । यातायात व्यवस्था कार्यालय विराटनगरले बायोमेट्रिकमा औँठाछाप नमिलेको भन्दै अधिकांशलाई इटहरी पठाउने गरेको छ । 

धनकुटा र उदयपुरका कार्यालयले पनि  सेवाग्राहीलाई इटहरी नै पठाउँछन् । यसरी बायोमेट्रिकमा औँला छाप नमिलेर इटहरी आउनेको तथ्याङ्क नराखिए पनि ठूलो सङ्ख्या छ । यातायात व्यवस्था विभागले नै कमिसनमा कमसल मेसिन जडान गरेकै कारण सर्वसाधारणले सास्ती बेहोर्नुपरेको आरोप लागेको छ । 

विराटनगर महानगरपालिका तीनका ध्रुवकुमार सुवेदी सवारीचालक अनुमतिपत्र नवीकरण गर्न गत पुस २२ गते वडा नम्बर चारमा रहेको यातायात व्यवस्था कार्यालय गए । बायोमेट्रिकमा औँठाछाप नमिलेको भन्दै कर्मचारीले उनलाई इटहरी जान अह्राए । तीन दिनपछि इटहरी गएर उनले सवारी चालक अनुमतिपत्र नवीकरण गरे ।

विराटनगर महानगरपालिका वडा नम्बर दुईका गोपाल पोखरेल लाइसेन्स नवीकरण गर्न पुस १९ गते विराटनगरको यातायात व्यवस्था कार्यालय गए । उनलाई पनि कार्यालयका कर्मचारीले बायोमेट्रिकमा औँठाछाप नमिलेको भनेर इटहरी जान भनेका छन् । तर समय नमिलेर उनी अझै इटहरी जान सकेका छैनन् ।

पाँच वर्षअघि बायोमेट्रिक लिँदा भएको औँठाको छालामा हाल विभिन्न कारणले परिवर्तन आउने भएकाले मेसिनले नलिएको कर्मचारीको तर्क छ । तर केही कर्मचारीले औँलामा चोट पटक नलागेसम्म रेखामा परिवर्तन नआउने दाबी गरेका छन् ।

कमिसनको खेलमा कमसल मेशिन भित्र्याएका कारण कहिलेकाहीँ बायोमेट्रिक लिएको केही मिनेटपछि फेरि लिँदा पनि मेसिनले नचिनेको ती कर्मचारीको दाबी छ । प्रदेशको यातायात व्यवस्था कार्यालयको तालुकदार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यो विषयमा बुझ्ने बताएको छ ।

यातायात व्यवस्था कार्यालयको सर्भर अधिकांश समय नचल्ने, बायोमेट्रिकमा समस्याजस्ता सानातिना कुराले सर्वसाधारणले सास्ती बेहोर्दै आएका छन् भने कार्यालयका कर्मचारीले यसलाई अवसरका रूपमा उपयोग गर्दै आएको गुनासो बढेको छ । जसले गर्दा सेवाग्राहीले आफ्नो काम गराउन बिचौलियामार्फत अतिरिक्त रकम खर्चिँदै आएका छन् । 


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।