चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर-२९ सत्रकिलोमा आज बिहान बस र विद्युतीय यात्रुवाहक गाडी ठोक्किँदा ज्यान गुमाएका ५ जनाकै सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालका अनुसार दुर्घटनामा विद्युतीय गाडीका चालक खैरहनी-४ का ३९ वर्षका अनुज अधिकारी, सोही गाडीमा रहेका गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने वर्ष ४०/४२ का राज बहादुर गुरुङ, नवलपरासी बिनयत्रिबेणी गाउँपालिका-४ बगैंचा बस्ने ३५ वर्षीय सन्तोष भुषाल, उनकी श्रीमती ३३ वर्षीया सबिना भुषाल, भारत घर भइ हाल पोखरा-९ मा किरान पसल गरी बस्ने ३६ वर्षीय राजकुमार साहले ज्यान गुमाएका हुन् ।
मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-००१ ज ०२९८ नम्बसको विद्युतीय गाडी र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २८१२ नम्बरको बस आज बिहान ३ बजे १७ किलोमा एक आपसमा ठक्कर खाएको थियो ।
दुर्घटनामा घाइते भएका ६ जनामध्ये २ जना डिस्चार्ज भइसकेका छन् भने एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । अन्य ३ जनाको उपचार जारी छ । बस चालक मकवानपुर हेटौडा-९ बस्ने वर्ष ४४ का सूर्य विक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।