झाम्रे नाच संरक्षणमा जुटे तनहुँका मगर गाउँ

माघ ९, २०८० |प्रताप राना
झाम्रे नाच संरक्षणमा जुटे तनहुँका मगर गाउँ

तनहुँ । समुदाय स्तरबाट झाम्रे नाच संरक्षण गर्न थालेपछि तनहुँका मगर गाउँ गुञ्जायमान बनेका छन् । नयाँ पुरानो दुवै पुस्ताले आफ्नो समुदायको नाच संरक्षणमा जुटेपछि तनहुँका मगर बहुल गाउँहरूमा झाम्रे गुन्जिन थालेको हो ।

मादलको तालमा पुरुष स्वरमा झाम्रे गीत घन्किन्छ। अनि त्यो गीतमा मगर कन्या युवतीहरू लय र ताल मिलाउँदै नाच्छन्। यति बेला तनहुँको ऋषिङ्गका मगर गाउँमा झाम्रे गुन्जिरहन्छ । आफ्नो समुदायमा निकै लोकप्रिय झाम्रे नाचको संरक्षणमा मगर समुदायका नयाँ पुराना दुवै पुस्ता लागेपछि अहिले गाउँ नै झाम्रेमय बनेको छ । बाजे बज्यै, बाबु आमासँग छोराछोरीले सिक्ने गरेकाले यो नाच पुस्तान्तरणसमेत भएको छ ।

लोप हुने अवस्थामा पुगेपछि यो नाचको संरक्षण र पुस्तान्तरण गर्न मगर समुदायका अगुवा कस्सिएका छन् ।

रोदीघरमा बसेर पुरुष र युवतीबीच गीत गाएर मादलको तालमा नचाउने र नाच्ने गर्दछ । मगर जातिको प्रचलित झाम्रे नाचले दुःख भुलाउन, सामाजिक सद्भाव विकास गर्न र समुदायबीच एकता कायम गर्ने संस्कृतविद् बताउँछन् ।

दशैको अष्टमीदेखि सुरु गरिने यो नाच माघ महिनासम्म नचाउने प्रचलन छ । मादल, झर्रा र डम्फुको तालमा पुरुष र युवतीले गीत गाउने र नाच्ने गरिन्छ । नेपाली मौलिक संस्कृति र मगर जातिको पहिचानसँग जोडिएको झाम्रे नाचलाई जीवन्त राखिराख्न समुदायले गरेको पहललाई राज्यले समेत साथ दिन आवश्यक छ ।


Image

प्रताप राना

राना कान्तिपुर टीभीका तनहुँ संवाददाता हुन् ।