‘मजदुरी नगर्दा चुलो बल्दैन, चिसोले कामै पाइएन’

सरकारी सहयोग नपाएको गुनासो
शीतलहरले सकस- व्यापार व्यवसाय पनि ठप्प, विद्यालय बन्द
माघ ६, २०८० |रमेश ठाकुर
‘मजदुरी नगर्दा चुलो बल्दैन, चिसोले कामै पाइएन’

बारा । बाक्लो हुस्सु र दिनभरि चलिरहने पश्चिमी वायुका कारण पूर्वी तराईमा चिसो बढेको छ । एक्कासि बढेको शीतलहरसँगै बिहान-बेलुका यहाँको तापक्रम घटेर ९ डिग्री सेन्टिग्रेटसम्म पुगेको छ । जाडो बढेसँगै विद्यालय बन्द गरेका पालिकाहरुले चिसोले प्रभावितलाई कुनै सहयोग गरेको छैन ।

बारा कलैया उपमहानगरपालिका १४, बघवनका चनरदेव पासवानले दैनिक मजदुरी नगरी घरमा चुलो बल्दैन । तर शीतलहरका कारण बढेको चिसोले दुई सातादेखि यिनले कुनै काम पाएका छैनन् । ‘दुई सातादेखि काम पाएको छैन । बेरोजगारीले पेट भर्न मुस्किल परेको छ । बालबच्चाको औषधिउपचार गर्न समस्या भएको छ अवस्था धेरै खराब छ,’ उनले दुखेसो सुनाए ।

पूर्वी तराईमा बढेको अत्यधिक जाडोले दैनिक काम गरी गुजारा गर्ने मजदुर, बालबालिका, वृद्धवृद्धा र सर्वसाधारणको दैनिकी अहिले कष्टकर बनेको छ । चिसोबाट बच्न सर्वसाधारणहरु साँझ-बिहान आगो तापेर बस्छन् । चिसोले प्रभावित मजदुर र विपन्नहरुका लागि पालिकाहरुले ध्यान दिएको देखिँदैन । ‘यहाँ जाडो धेरै बढेको छ । काम पाएको छैन । दिनभर बसेर पनि केही काम हुँदैन । व्यपार व्यवसाय पनि ठप्प छ,’ कलैयाका मजदुर श्रीनिवास महतोले भने ।

जाडो बढेसँगै स्थानीय तहले विद्यालयको पठनपाठन शनिबारसम्मका लागि बन्द गरेको छ । विपत् व्यवस्थापन समितिले चिसोबाट विपन्न तथा मजदुरहरुलाई जोगाउनका लागि बाराका १६ वटै स्थानीय तहलाई आवश्यक निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

अत्यधिक जाडोका कारण दैनिक ज्यालादारी गरी परिवारका सदस्यहरुको छाक टार्ने मजदुरहरु बढी प्रभावित छन् । जाडो सँगै लाग्ने गरेको बाक्लो हुस्सुका कारण सवारीसाधन चलाउनसमेत कठिनाइ हुने गरेको छ । सवारीसाधन पनि अहिले कमै मात्रामा चलेका छन् ।

तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो


Image

रमेश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् ।