लमजुङमा आगलागी हुँदा एक जनाको मृत्यु, एक घाइते

माघ ५, २०८० |आश गुरुङ
लमजुङमा आगलागी हुँदा एक जनाको मृत्यु, एक घाइते

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, स्याँगेमा गएराति एक घरसहितको पसलमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । आगलागीबाट ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । सन्तमायाका पति ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने आगलागीपछि माथिल्लो तलाबाट हाम फालेर बाँच्न सफल भएका थिए ।

सटर बन्द रहेको अवस्थामा राजेन्द्रकी श्रीमती सन्तमाया निस्सासिनुका साथै पछि आगलागीबाट बाहिर निस्कन नसकेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीबाट महिलाको शव पूरै जलेको अवस्थामा भेटिएको छ ।

फलामे पोल गाडेर पर्खाल लगाएको, बाहिर सटर र माथि टिनको छानो लगाएर बनाएको पसलसहितको घर पूर्ण रुपमा जलेर नष्ट भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर थानेश्वर चपाईंले बताए । उनका अनुसार आगलागीबाट ग.१६प ३९३८ नम्बरको मोटरसाइकल पनि जलेको छ । आगलागीको कारण र क्षतिबारे हालसम्म केही खुलेको छैन ।

घटनाको सबै विवरण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बेसीसहर नगरपालिका २, गैरीडाँडा घर भएका श्रेष्ठ दम्पती स्याँगेमा विगत १८ वर्षदेखि किराना र कपडा पसल सञ्चालन गरेर बस्दै आएका थिए ।


Image

आश गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका लमजुङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement